जिरोपोइन्ट । धरानमा यही भदौ ७ गतेदेखि ९ गतेसम्म प्रदेश नं १ अन्तरविद्यालय तथा ओपन टेबलटेनिस नगद पुरस्कार प्रतियोगिता हुने भएको छ ।

सुनसरी जिल्ला टेबलटेनिस संघको आयोजना र पूर्वखेलाडी टेबलटेनिस संघको संयोजनमा चारवटा विधाका प्रतियोगिता हुने भएको हो । धरान १३ स्थित रहेको अमर सेवा सदनमा हुने उक्त प्रतियोगितामा प्रदेश नम्बर १ का सम्पूर्ण विद्यालयलाई समावेश गर्ने प्रयास गरीएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

खेलको चारवटा विधामध्ये १२ वर्षभन्दा मुनिका र १४ वर्षभन्दा मुनिका प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार, दोस्रो हुनेले नगद रु दुई हजार र तेस्रो हुनेले एक हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी १८ वर्षभन्दा मुनिका प्रतियोगितामा प्रथम हुनेले चार , दोस्रो हुनेले २५ सय र तेस्रो हुनेले पन्ध्रसय प्राप्त गर्नेछन् । खुल्ला प्रतियोगिता तर्फ भने प्रथम हुनेले पाँच हजार, दोश्रोले ३ हजार र तेश्रो हुनेले २ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागिता जनाउनका लागि खुल्ला प्रतियोगितामा ५ सय र अन्यमा २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सुनसरी जिल्ला टेबलटेनिस संघका अध्यक्ष नविन श्रेष्ठका अनुसार असल र दक्ष खेलाडी विद्यालय स्तरबाट नै उत्पादन गर्न सकिने भएकोले अन्तरविद्यालय प्रतियोगिता  गर्न लागिएको हो ।