पानवारी । अमर सेवा समाजले बहुउद्देश्यीय कवर्ड हल निर्माण गरेपछि अहिले ब्याडमिन्टन खेल्नेको भीड लाग्ने गरेको छ । बिहान ५ बजे कवर्डहल खुलेपछि ब्याडमिन्टन खेल्नेको भीड लाग्छ । हलभित्र रहेका ४ वटा कोर्टमा बिहानको समयमा मात्र १ सयभन्दा बढीले खेल्ने समाजका भुवन राईले जानकारी दिए । उनका अनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म ब्याडमिन्टन खेल्नेले पालो पाउन मुस्किल पर्छ भने पालो कुरेर दिउँसो १ बजेसम्म ब्याडमिन्टन खेलिरहन्छन् । कवर्डहल निर्माण गर्दा बहुउद्देश्यीय भनिए पनि अहिले योजनाअनुसारको बनाउन नसकिएको निर्माण समितिका सह–संयोजक भुवन राईले बताए । उनले भने अहिलेलाई ब्याडमिन्टनमा धेरैको रुचि रहेकोले ब्याडमिन्टन कोर्ट राखिएको हो तर बास्केटबल र भलिबल कोर्ट पनि राख्ने योजना रहेको छ । एक सय १३ फिट लम्बाइ, ५४ फिट चौडाइ र ४८ फिट अग्लो ब्याडमिन्टन हलमा चारवटा ब्याडमिन्टन कोर्ट रहेका छन् । अमर सेवा समाजको अगुवाइमा निर्माण थालिएको बहुउद्देश्यीय कवर्ड हलका लागि विदेशमा रहेका समाजमा आबद्ध व्यक्तिहरू, धरान उपमहानगरपालिका, संसदीय कोष तथा खेलकुद मन्त्रालयबाट समेत बजेट निकासा गरी एक करोड २५ लाखको लागतमा निर्माण गरिएको हो । नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा पनि सोही हलमा नियमित रूपमा ब्याडमिन्टन खेल्न पुग्छन् । उनी मात्र होइन, धरानका व्यापारी, सञ्चारकर्मी, विद्यार्थी, नेतादेखि सबै क्षेत्रका व्यक्तित्वहरु ब्याडमिन्टन खेल्ने गरेका छन् । ब्याडमिन्न सङ्घका उपाध्यक्ष लामा भन्छन्, ‘ब्याडमिन्टन खेल्न धेरै आउने भएकोले सधैँ पालो कुरेर खेल्नुपर्छ । यहाँ खेलाडीमात्र होइन, आफूलाई फिट राख्न खेल्न आउनेको संख्या पनि उत्तिकै छ ।’ पत्रकार रत्न आचार्य आफूलाई फिट राख्न नियमित ब्याडमिन्टन खेल्छन् । उनी भन्छन्, ‘अहिले धेरै मान्छे आफ्नो स्वास्थ्यप्रति सचेत छन्, दिनभरि एकैठाउँमा बसेर व्यापार गर्ने, एउटा कुर्सीमा बसेर जागिर खानेहरुको संख्या धेरै छ, उनीहरु ब्याडमिन्टन खेलेर आफ्नो स्वास्थ्य ठीक अवस्थामा राख्न पनि आउँछन् ।’ बेलुकीको समयमा भने अण्डर नाइन्टिनका बालबालिकालाई ब्याडमिनन्टनको प्रशिक्षण दिइरहेको छ । एक महिना अघिदेखि शुरु भएको प्रशिक्षणमा २६ जनाको सहभागिता रहेको छ । ब्याडमिन्टनका खेलाडी तथा बालबालिकालाई प्रशिक्षण गराइरहेका प्रशिक्षक देवेन्द्र खड्काले भने, ‘उनीहरुलाई निरन्तर प्रशिक्षण दिँदै लाने हो, एक महिना भयो रिजल्ट पनि राम्रो देखिँदै आएको छ ।’ भर्खरै अन्नपूर्ण पोष्ट पत्रिकाले सञ्चालन गरेको देशव्यापी ब्याडमिन्टन प्रतियोगितामा एक प्रशिक्षार्थी प्रि–क्वार्टर फाइनलसम्म पुग्न सफल भएका थिए । राष्ट्रिय खेलाडी समेत रहेका सुजन श्रेष्ठ र देवेन्द्र खड्काले प्रशिक्षण दिएका १४ वर्षीय खेलाडी सत्यम लिम्बू अण्डर नाइन्टिनको स्पर्धामा बङ्गलादेशका खेलाडीलाई पराजित गरी प्रि–क्वार्टर फाइनलमा पुगेका थिए ।