पानवारी । धरान फुटबल फ्यान क्लबले आयोजना गरेको रियो समर फुटबल प्रशिक्षण क्याम सम्पन्न भएको छ ।

गर्मि विदाको खाली समयमा विद्यार्थीहरुलाई फुटबलको प्रशिक्षण दिन आयोजना गरेको क्याम्पमा २ सय ३९ विद्यार्थी सहभागी भएको क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्याम्पबाट क्लबलाई १८ हजार मुनाफा समेत भएको छ । गत साउन ६ गतेदेखि १५ गतेसम्म १० दिनसम्म भएको ट्रेनिङमा राष्ट्रिय स्तरमा खेल्न सक्ने क्षमता भएका खेलाडीहरु क्याम्पमा सहभागी भएको क्लबका अध्यक्ष अशोक राईले बताए ।

उनका अनुसार क्लबले पहिलो पटक आयोजना गरेको फुटबल प्रशिक्षण क्याम्पमा महिला तथा पुरुषका विभिन्न उमेर समुहमा विभाजन गरिएकोमा अन्डर १२ का खेलाडीहरु अरु भन्दा प्रतिभावान रहेका छन् । प्रशिक्षक हेम गुरुङले छोटो समयमा धेरै सिप सिकाउन नसकेपनि फुटबलको आधारभूत कुराहरुको बारेमा भने सिकाएको बताए ।

उनका अनुसार केही केही विद्यार्थीहरु भविष्यमा फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको भेटिएको छ । उनीहरुलाई निरन्तर प्रशिक्षण दिन सके भविष्यमा फुटबल स्टार बन्नेमा दुईमत छैन ।