धरान । ला लिगाको नयाँ सिजनकाे सुरूवातमा स्टार खेलाडी मेसीकाे कप्तानीमा मैदानमा उत्रिएकाे बार्सिलोनाले प्रभावशाली जित निकालेकाे छ । बार्सिलोनाले एलाभेसलाई ३-० ले हराउँदा  मेस्सीले दुई गोल गरे भने फिलिप कोन्टिन्होले अर्काे गाेल थपे ।

मेस्सीले ६४ औं मिनेटमा गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा मैदान छिरेका कोन्टिन्होले ८३ औं मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । इन्जुरी समयको दोस्रो मिनेटमा पुनः मेस्सीले नै अर्को गोल थपेपछि बार्सिलोना ३-० ले विजयी भयो ।

उता इटालियन सिरी ए फुटबलमा युभेन्टसकाे जर्सीमा पहिलाेपटक मैदानमा उत्रिएका स्टार खेलाडी राेनाल्डाेले पनि पहिलाे खेलमा जित दर्ता गरेका छन् । खेलमा युभेन्टसले इन्जुरी समयमा निर्णायक गोल गर्दै ३-२ ले विजयी भयो । तर इन्जुरी समयमा रोनाल्डोले गरेको गोलले भने मान्यता पाएन । रोनाल्डो किएभोका गोलरक्षक स्टेफानोसँग ठोक्किएको भन्दै गोललाई मान्यता दिइएन ।

सामी खिदिराले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा स्टेपिन्स्कीले बराबरी गोल फर्काए । ५६ औं मिनेटमा किएभोले अग्रता लियो ।

पेनाल्टीलाई गोलमा परिणत गर्दै इमानुएल जाकिरीले किएभोलाई २-१ को अवस्थामा पुर्‍याए । तर, किएभोलाई ७५ औं मिनेट दुःखद भयो किनभने मातिया बानीले आफ्नै पोष्टमा गोल गरेपछि खेल युभेन्टस २-२ को बराबरीमा फर्कियो । तर पनि इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिकोले निर्णायक गोल गर्दै युभेन्टसलाई ३-२ को जीत दिलाउन सफल भए ।