बिर्तामोड । पहिलो झापा स्पोट्स अवार्डको सफलतापछि नेपाल खेलकूद पत्रकार मञ्च झापाले ४ वटा जिल्ला समेटेर दोस्रो स्पोट्र्स अवार्ड गर्ने भएको छ ।

मञ्चले झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई समेटर साविक अञ्चलस्तरीय दोस्रो स्पोट्र्स अवार्ड गर्न लागेको शुक्ररबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । मञ्चले आगामी माघ ७ गते दोस्रो स्पोट्र्स अवार्ड वितरण गर्न लागेको जनाएको छ ।

यो बर्ष एउटा विधा थप गरी ६ वटा बिधामा खेलाडीलाई पुस्कृत गर्ने मञ्चका अध्यक्ष रमेश समदर्शी राईले जानकारी दिए । ‘६ विधामा उत्कृष्ट साविक मेची अञ्चल भरीका पुरुष खेलाडी, महिला खेलाडी, कोच, पिपुल च्वाइज, युवा खेलाडी र लाइफ टाइम एचिभमेन्टका प्रतिभालाई पुरस्कृत गर्नेछौं’, अध्यक्ष राइले भने ‘ गतबर्षको पिपुल च्वाइज टिमको बद्ला यस बर्ष पिपुल च्वाइज प्लेयर बनाइको छ ।’ उनले यो बर्ष पुरस्कारको राशिबृद्धि गरी जनही २५ हजार पुर्याइएको बताए । ‘उत्कृष्ट महिला र पुरुष खेलाडीलाई मोटरसाइकल र स्कुटी प्रदान गरिने छ’ । अध्यक्ष राइले भने । मोटरसाइकल र स्कुटी पुरस्कार झापाका समाजसेवी तथा खेलक्षेत्रका हस्ती जलकुमार गुरुङले प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मञ्चले कार्यक्रम सफल पार्नका लागि बिभिन्न ९ वटा उपसमिति निर्माण गरी जिम्मेवारी बाँडफाँड गरेको छ । स्पोट्र्स अवार्डका लागि पुरस्कार बाहेक १२ लाख २५ हजार अनुमानित खर्च हुने अध्यक्षले बताएका छन् । कार्यक्रममा अघिल्लो अवार्डको खर्च विवरण मञ्चका कोषाध्यक्ष बुद्ध तामाङले प्रस्तुत गरेका थिए । पत्रकार सम्मेलनमा मञ्चका सल्लाहकार गणेशमान मुखिया, इन्द्रजित मुखिया, बिशाल नेम्वाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मञ्चका सचिव पर्वत पोर्तेलले गरेका थिए ।