ताप्लेजुङ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडौं ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा एम्ब्रियो युवा क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको १० औँ मिनेटमा मोरङका दीपक राईले गोल गर्र्दै आफ्नो टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । तर ४४ औँ मिनेटमा चर्च ब्वाइजका खेलाडी म्याक्सबलले एक गोल फर्काउँदै खेललाई बराबरी गरेका थिए । यस्तै दोस्रो हाफको ५ औँ मिनेटमा मोरङका लागि सुवास राईले गोल गर्दै बराबरी गरे । त्यसलगत्तै २२ औँ मिनेटमा चर्च ब्वाइजका जाङ्मु शेर्पाले गोल गर्दै बराबरी बनाएका थिए । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा निर्धारित समयको ५ मिनेट बाँकी रहँदा रुपेश तामाङले गोल गर्दै चर्च ब्वाइजको सेमीफाइनल यात्रा निश्चित गरे । चर्च ब्वाइज सेमीफाइनलमा पुगेसँगै क्वार्टरफाइनल चरणका खेलहरु सकिएका छन् । यसैबीच आज (बिहीबार) देखि शुरु हुने सेमीफाइनलको पहिलो खेलमा रेडस्टार क्लब झापा र राष्ट्रिय जागृति क्लब सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।