ताप्लेजुङ । ट्राईबेकरमा ४–३ गोल अन्तरले राष्ट्रिय जागृति क्लब ईटहरीलाई हराउँदै रेड स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । निर्धारित र अतिरिक्त समयमा समेत खेलको निर्णय लिन नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
रेड स्टारका लागि पदम लामा, विवेक पौडेल, भुषण लिम्बु र कर्ण लिम्बुले ट्राईबेकरमा गोल गरेका थिए । यता राष्ट्रिय जागृति क्लब ईटहरीका लागि भने खेल क्याप्टेन रमेश राजबंसी, उमेश कार्की र बिमल मगरले गोल गरे । यसअघि निर्धारित समयको छैटौँ मिनेटमा राष्ट्रिय जागृति क्लब ईटहरीका लागि तिर्थ बस्नेतले गोल गरेका थिए भने दोश्रो हाफको ३९ औँ मिनेटमा रेड स्टारका निशान लिम्बुले गोल गर्दै बराबरी गरेका थिए ।
यसैबीच भोली मध्यान्ह पछि हुने दास्रो सेमिफाईनलको खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाईज् काठमाण्डौ र न्यु स्टार झापाबीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा सदरमुकाम फुङलिङ स्थित भानुजन माविको खेलमैदानमा खेल जारी छ । प्रतियोगिताको विजेताले ३ लाख १ हजार १ सय ११ र उप विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैँया नगद सहित ट्रफी पाउने छन् ।