ताप्लेजुङ/ट्राइब्रेकरमा ४–३ गोलअन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै रेडस्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र अतिरिक्त समयमा समेत खेलको निर्णय लिन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । रेडस्टारका लागि पदम लामा, विवेक पौडेल, भूषण लिम्बू र कर्ण लिम्बूले ट्राइब्रेकरमा गोल गरेका थिए । यता राष्ट्रिय जागृति क्लब इटहरीका लागि भने टिम क्याप्टेन रमेश राजवंशी, उमेश कार्की र विमल मगरले गोल गरे । यसअघि निर्धारित समयको छैठौँ मिनेटमा राष्ट्रिय जागृति क्लब इटहरीका लागि तीर्थ बस्नेतले गोल गरेका थिए भने दोस्रो हाफको ३९ औँ मिनेटमा रेडस्टारका निशान लिम्बूले गोल गर्दै बराबरी गरेका थिए । यसैबीच आज (शुक्रबार) हुने दास्रो सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडौं र न्यु स्टार झापाबीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेलमैदानमा खेल जारी छ ।

प्रतियोगिताको विजेताले ३ लाख १ हजार १ सय ११ र उपविजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् ।