ताप्लेजुङ/ ताप्लेजुङमा जारी तेस्रो संस्करणको पाथीभरा गोल्डकपको उपाधिका लागि दुई झापाली टिम भिड्ने भएका छन् । शनिबार हुने फाइनल खेलमा उपाधिका लागि न्युस्टार क्लब झापा र रेडस्टार झापा आमनेसामने हुँदैछन् । शुक्रबार अबेर सम्पन्न अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौंलाई पाखा लगाउँदै न्युस्टारले उपाधि यात्रा तय गरेको हो । खेलको ३८ औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज २–१ गोल अन्तरले पराजित भयो । चर्चब्वाइजका लागि बुद्धिमान राईले पहिलो हाफमा गोल गरेर अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको न्युस्टारले दोस्रो हाफको तेस्रो मिनेटमा उपहार गोल पायो । सोही गोलमार्फत् खेल बराबरी गर्न सफल पनि भयो ।
चर्चब्वाइजका कप्तान रमेश दङ्गालले आफ्नै पोष्टमा गोल गरेका थिए । निर्धारित समयको अन्तिम समयमा न्यु स्टारका सनम राईले फ्रिकिकमार्फत् आकर्षक गोल गरेपछि न्युस्टार विजय नजिक पुगेको थियो । शुक्रबारको खेलमा न्युस्टारका जर्सी नं ६ का विशाल दर्जी म्यान अफ द म्याच घोषित भए । न्युस्टारले यसअघि क्वाटरफाइनल चरणमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई पराजित गरेको थियो भने रेडस्टार झापाले क्वाटरफाइनल चरणमा रेडहर्स इलामलाई पराजित गरेको थियो । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई टाइब्रेक्ररमा पराजित गर्दै उपाधि नजिक पुगेको थियो । दुवै टिमले पाथीभरा गोल्डकपको उपाधि आफ्नो पक्षमा रहने दाबी गरेका छन् । यस अघि पनि झापा–११ का खेलाडीलाई मैदान उतारेको रेडस्टारले तीनजना विदेशी खेलाडीलाई पनि मैदानमा पठाइसकेको छ । निकै नै अनुभवी खेलाडीलाई भिœयाएको रेडस्टार झापाले झापा–११ का कर्ण लिम्बू, विवेक पौडेल, भुषण लिम्बू, निशान लिम्बू लगायतका खेलाडीलाई शनिबार पनि मैदानमा उतार्ने छ । यता नयाँ जोश बोकेको न्युस्टार झापाका खेलाडीहरूले समेत यसअघिका खेलमा निकै उत्साहजनक खेल खेलिरहेका छन् । न्युस्टारका पहिलेका खेललाई हेर्दा शनिबारको उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।
लाखे जात्राको अवसरमा २०२९ सालदेखि निरन्तर हुँदै आएको प्रतियोगिताको विजेताले ३ लाख १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले १ लाख ५१ हजारमा चित्त बुझाउनु पर्नेछ । प्रतियोगिता विगत ३ वर्षदेखि पाथीभरा गोल्डकपका नाममा सञ्चालन हुँदै आएको छ । पूर्वकै प्रसिद्ध तीर्थ स्थल पाथीभराको महिमालाई खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार गर्ने उद्देश्यले यसको नाम विगत ३ वर्षदेखि पाथीभरा गोल्डकप नामाकरण गरिएको आयोजक लाखे जात्रा सञ्चालन समितिले बताएको छ । दर्शकहरूको अत्यधिक उपस्थिति रहने यस गोल्डकपमा गत भदौ ८ गतेदेखि नै अस्थायी बाँसको प्याराफिटमा बसेर खेलको आनन्द लिइरहेका छन् । आयोजकका अनुसार विगत चार वर्षदेखि निरन्तर रूपमा निर्माण गरिएको बाँसद्वारा निर्मित अस्थायी प्याराफिटमा यस वर्ष भने आठ हजार भन्दा बढि दर्शक अटाउन सक्छन् ।