ताप्लेजुङ । तेस्रो संस्करणको पाथीभरा गोल्डकपको उपाधी झापाको रेड स्टार क्लबले चुमेको छ । झापाकै न्यु स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै रेडस्टारले उपाधी उचालेको हो । निर्धारित ९० मिनेटको खेलमा बरावरी भएपछि खेलको निर्णय अतिरीक्त समयवाट लिईएको थियो । उपाधीका लागि पहिलो हाफमा ग्लोरीले गोल गरेका थिए भने अतिरिक्त समयमा कर्नर किक मार्फत खेल क्याप्टेन कर्ण लिम्बुले निर्णायक गोल गरेका थिए । यता उपविजेता बनेको झापाकै न्यु स्टार भने १ गोलमा सिमित रह्यो । न्यु स्टारका लागि विजय राईले दोस्रो हाफमा एक गोल गर्दै खेललाई वरावरीमा ल्याएका थिए । खेल बराबरीकै अवस्थामा निर्धारित समय सकिए पछि अतिरिक्त समय थप गरिएको थियो । प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमस तीन लाख १ हजार १ सय ११ र एक लाख ५१ हजार १ सय ११ रुपैँया नगद सहित ट्रफि प्रदान गरिएको छ । प्रतियोगिता पछि समापन समारोहका बीच प्रतिनीधिसभा सदस्य योगेश भटराई लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । गएको ८ गतेदेखि जारी प्रतियोगिता विजेता तथा उपविजेतालाई पुरस्कार वितरण संगै आजै समापन गरिएको छ । खेलकुदको माध्ययमबाट प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरि जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष मोती पतंवाले बताउनुभयो । लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आएपनि २०७४ सालदेखि भने नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाईएको हो ।