विराटनगर/विराटनगर भन्सार कार्यालयबाट लाखौं रुपैयाँ राजस्व छली गरी सामान आयात हुने गरेको पाइएको छ । भन्सारको अधिकृत तहका कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा विभिन्न सामग्रीको मूल्याङ्कन कम गराएर लाखौं रुपैयाँ राजस्व छली हुने गरेको पाइएको हो । आयात गरिएभन्दा कम परिमाणको सामानको मूल्याङ्कन गराएर भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा राजस्व छली हुने गरेको स्रोतको दाबी छ । सामान लोड गरिएका ढुवानीका साधनमा मूल्याङ्कन गरिएको भन्दा बढी परिमाणमा सामान पनि फेला पर्ने गरेको छ । सामान जाँचपास तथा मूल्याङ्कनमा भन्सार कर्मचारी र एजेन्टको प्रत्यक्ष संलग्नता रहन्छ । सामान बढी भए पनि कम मूल्याङ्कन गराएपछि त्यही हिसाबले राजश्व बुझाएर विराटनगर भन्सार कार्यालयबाट बाहिरिएको विभिन्न सामान बोकेको एउटा भारतीय नम्बरको ट्रकलाई प्रहरीले मङ्गलबार राति विराटनगर–१४ आँखा अस्पतालअगाडिबाट नियन्त्रणमा लिएको छ । भन्सार कार्यालयले उपलब्ध गराएको प्रज्ञापन–पत्रमा सामानको मूल्याङ्कन कम गराएर न्यून राजश्व तिरेको पाइएपछि ६५ लाख बराबरको हस्पिटलमा प्रयोग हुने सर्जिकलका विभिन्न सामग्री, मेट्रलिङ, फलामका सामान बोकेको यूपी १७ सी १२९७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भन्सार एजेन्टले सामानको जति मूल्याङ्कन गरेर बुझाए पनि पुनः चेकजाँच नगरिकन भन्सारका कर्मचारीले आयातकर्तालाई प्रज्ञापन–पत्र उपलब्ध गराएको पाइएको छ ।

ट्रकमा सामान आयात गरेबापत १२ लाख रुपैयाँ राजश्व पनि बुझाएको प्रज्ञापन–पत्रमा देखिन्छ । राजश्व तिरेभन्दा बढी परिमाणमा सामान लोड गरिएको सूचनाका आधारमा ट्रक र चालक भारत कटिहारका मोहम्मद अलीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनले ट्रक, सामान, चालक र भन्सार शुल्क बुझाएपछि लिइएको प्रज्ञापन–पत्रलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि क्षेत्रीय राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा बुझाइएको जानकारी दिए ।उक्त सामानको जाँचपास भन्सार एजेन्ट विनोद पोद्दारले गरेको खुलेको छ । भन्सार जाँचपास र सामान आयातका सम्बन्धमा उनी यसअघि पनि विवादमा पर्दै आएका एजेन्ट रहेको बताइएको छ । प्रहरीले ट्रक पक्राउ गर्नासाथ उनी छुटाउन दबाव दिँदै राति नै इलाका प्रहरी कार्यालय रानीमा पुगेका स्रोतको दाबी छ । प्रहरीलाई राजश्व छली गरेर भन्सार कार्यालयबाट सामान लिएर निस्किएको ट्रक छाड्न विभिन्न ठाउँबाट दबाव आए पनि प्रक्रिया पूरा गरेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा प्रहरीले बुझाइसकेको छ ।प्रहरीले गत चैतमा पनि कम मूल्याङ्कन गरेर कपडा आयात गरिएको एउटा ट्रक नियन्त्रणमा लिएको थियो । कम मूल्याङ्कन गराएर राजश्व पनि कम तिरेको र एउटा कपडा भनेर अर्कै कपडाको भन्सार महसुल बुझाएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको ट्रकसँग राजश्व अनुसन्धानले ९३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

विराटनगर भन्सारमा व्यापारीले महँगो मूल्य पर्ने ‘सिफन’ को साडी ल्याएको छ भने मिलेमतोमा कम मूल्य पर्ने ‘सुती’ को साडीमा प्रज्ञापन–पत्रमा लेखी भन्सार छली गर्दै आएका छन् । यसरी एउटा साडी बराबर एक हजार रुपैयाँभन्दा बढी भन्सार छली विराटनगरबाट आयात हुँदै आएको सुरक्षा स्रोतले बताएको छ । यता भन्सार एजेन्ट पोद्दारले भने सामान र भन्सारको मूल्याङ्कन सही रहेको दाबी गरेका छन् । उनले राजस्व क्षति गर्ने कुनै मनसाय नरहेको दाबी गर्दै प्रहरीले ट्रक पक्राउ गरेर अनावश्यक दुःख दिएको बताए । विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांस अधिकारीले मूल्याङ्कन कम गरेको भनेर अहिलेसम्म प्रहरीले ट्रक पक्राउ गरेको भन्ने सूचना नपाएको बताए । ‘भन्सारबाट छुटेको ट्रक कसरी प्रहरीले नियन्त्रणमा लियो भन्ने कुरा नै बुझ्न सकिएन’ उनले भने, ‘कर्मचारी र एजेन्टबाट गल्ती भएको भए यस विषयमा छानविन गरेर कारबाही हुन्छ ।’ क्षेत्रीय राजश्व अनुसन्धान इटहरीका प्रमुख बेदराज फूयाँलले प्रहरीले पक्राउ गरेर बुझाएको ट्रकमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानपछि प्रक्रिया अगाडि बढ्ने उनले बताए ।