बिर्तामोड/ खाद्य अनुज्ञा–पत्र नलिएका झापा बिर्तामोडका दुई उद्योगमा ताला लागेको छ ।  प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वको अनुगमन टोलीले दुई उद्योगमा ताला लगाएको हो । खाद्य अनुज्ञा–पत्र नलिई सञ्चालित दुई उद्योगलाई बन्द गराइएको अनुगमन समितिले जनाएको छ ।

अनुगमन समितिले झापाको बुधबारेको भगवती वेभरेज उद्योग र बिर्तामोडको गोरखा मिनरल वाटर उद्योग बन्द गरेको जनाएको छ । दुवै उद्योगले खाद्य अनुज्ञा–पत्र नलिएको अनुगमन समितिले जनाएको छ । समितिले बिर्तामोडको तृष्णा पानी उद्योग, देवी पाथीभरा इण्डष्ट्रिज, तुलसा वेभरेज, एक्वा टप मकालु, भट्टराई ब्रदर्श वेभरेजबाट उत्पादन भएको पानीको नमुना परीक्षणका लागि सङ्कलन गरेको छ । नमुना विराटनगरमा रहेको प्रयोगशालामा परीक्षण गरेर आएको परिणामलाई बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भएको छ । झापाको पानी पिउनयोग्य भए नभएको भनेर हालसम्म कुनै परीक्षण भएको थिएन ।  यसैगरी अनुगमन टोली आउँदै गरेको थाहा भएपछि शनिश्चरेमा रहेको विशाल वेभरेज उद्योग बन्द गरेर उद्योग सञ्चालक तथा कर्मचारी फरार भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव गोपी घिमिरेले जानकारी दिए । उनले अर्काे दिन आएर समितिले त्यस उद्योगबाट नमुना सङ्कलन गर्ने योजना रहेको बताए ।

मोरङका उद्योगबाट सङ्कलन गरिएको पानीमा अत्यधिक मात्रामा कोलिफर्म फेला परेको हुनाले झापाको पनि अवस्था बुझ्न पानी उद्योगको अनुगमनमा निस्केको मन्त्री घिमिरेले बताए । उनले प्रदेशभरिका पानी उद्योगमा अनुगमनलाई निरन्तरता दिने बताए । उपभोक्ता दूषित पानी पिउन बाध्य भइरहेको समयमा उद्योगको लापरबाही वा कुनै कारणले त्यस्तो भएको भए नियन्त्रण गर्ने मन्त्री घिमिरेले बताए ।