विराटनगर/ विराटनगरस्थित प्राइम सहकारीको करोडौं रुपैयाँ अपचलन गर्ने प्रबन्धकसहित तीन जनालाई बुधबार पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । मोरङ अदालतका जिल्ला न्यायाधीश दीपक खनालको आदेशअनुसार सहकारीका प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षीय ईश्वर श्रेष्ठ, सहकारीका प्रमुख विराटनगरका ६८ वर्षीय इन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष विराटनगर–३ का ४० वर्षीय विष्णुप्रसाद सुवेदी पुर्पक्षको लागि थुनामा गएका हुन् ।
उनीहरूलाई मुलुकी ऐनको अदालती बन्दोबस्त ११८ को २ बमोजिम थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । ‘राम्रो ब्याजदर दिने भनी शेयरसदस्य तथा बचतकर्ताहरूलाई प्रभोलभनमा पारेको हुँदा थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्दछ’ –अदालतको आदेशमा उल्लेख छ । थुनछेक बहसमा वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय विराटनगरका सहायक जिल्ला न्यायाधीवक्ता पदमप्रसाद वस्तीले बहस गरेका थिए । प्रतिवादी ईश्वरको तर्फबाट वरिष्ठ अधिवक्ता विश्वनाथ भट्टराई, अधिवक्ता चूडामणि कोइराला, ज्ञानेन्द्र थापा र बुद्धिकुमार श्रेष्ठले बहस गरे । त्यस्तै इन्द्रलालको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय विष्णुप्रसाद भट्टराई र सुरेशलाल श्रेष्ठले गरेका थिए । त्यस्तै विष्णुको तर्फबाट अधिवक्ता नरायणप्रसाद दाहाल, महेशकुमार खड्का र विश्वनाथ भट्टराईले बहस गरेका थिए ।
सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीन जना र ९ जनालाई फरार प्रतिवादी बनाएर आइतबार ठगी मुद्दा जिल्ला अदालत मोरङमा दायर गरेको थियो । लामो समयदेखि विराटनगर–९ बाटारोडमा सञ्चालनमा आएको सहकारी विरुद्ध २ सय ६८ जना बचतकर्ताको जाहेरीमा ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए । प्रहरीको अनुसन्धानबाट उक्त संस्थाले ५ करोड ८० लाख ७९ हजार रुपैयाँभन्दा बढी सर्वसाधारणबाट ठगी गरेको पाइएको प्रहरीले खुलाएको छ । संस्थाले हालसम्म विभिन्न व्यक्ति र संस्थालाई गरी ३ करोड ३० लाख रुपैयाँ लगानी गरेको कागजातमा भेटिएको प्रहरीले जनाएको छ । ९ जनालाई पक्राउ पुर्जी जारी
यसै मुद्दामा ९ जना फरार भएका प्रतिवादीहरूलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अदालतले खोटाङ घर भई कास्कीको पोखरा बस्दै आएका अनिल जोशी, सहकारीका अध्यक्ष विष्णुलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष लीला खान, सदस्य सन्तोष भन्ने तेजप्रसाद ढकाल, तात्कालीन सदस्य गोमा श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, सुनिता दङ्गाल, विमला उदासलाई पक्राउ पुर्जी जारी गरेको अदालतले जनाएको छ ।