ताप्लेजुङ/ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा अबेर राती सम्म मदिरा बेचबिखन तथा सेवनमा रोक लगाईने भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बुधबार बसेको सर्व पक्षिय बैठकले शनिबार देखि लागु हुने गरि राती ९ बजे पछि मदिरा बेचबिखन र सेवनमा रोक लगाउने निर्णय गरेको हो । यस्तै बीना ईजाजत मदिरा बेचविखन गर्नमा समेत रोक लगाईने भएको छ । ईजाजत लिए नलिएको विषयमा अनुगमन गरिने छ भने तोकिएको समय भन्दा पछि सम्म बेचबिखन र सेवन गरेको पाईएमा कडाईका साथ कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
यता पाथीभरा मन्दिरमा आउने तिर्थयात्रीलाई सहजताका लागि आवश्यक व्यबस्थापनको समेत तयारी भएको छ । पाथीभराको सहज यातायातका लागि नगरपालिका उपप्रमुखको संयोजकत्वमा एक समिति बनाई आवश्यक व्यबस्थापन मिलाउने जिम्मा दिईएको छ भने उद्योग बाणिज्य संघको संयोजकत्वमा सदरमुकाम, सुकेटार, काफ्लेपाटी लगायतका ४ ठाउँमा हेल्प डेक्स स्थापना गर्ने निर्णय भएको छ । यस्तै सदरमुकाम र काफ्लेपाटीमा ईन्फरमेशन डेक्स स्थापना गरिने भएको छ भने सुकेटारदेखि काफ्लेपाटी सम्मको सडकको अवस्थालाई बुझ्न समेत समिति बनाईएको छ । उक्त समितिले ७ दिन भित्रै सुकेटारदेखि काफ्लेपाटी सम्मको सडक खण्डमा मर्मत र निर्माण गर्नु पर्ने ठाउँको पहिचान गर्ने छ । सोही अनुसार पाथीभरा सिजन अगावै आवस्यक व्यवस्थापन गरिने बताईएको छ । यता यातायातलाई व्यबस्थित बनाउन बनेको समितिले सदरमुकामदेखि काफ्लेपाटी सम्मको भाडा दर, यातायातका कर्मचारीको पोशाक र परिचय पत्र लगायतको टुंगो लगाई कार्यान्वयनमा सहयोग पुर्याउने छ । हरेक समितिमा सुरक्षा निकायहरु, होटल व्यबसायी संघ, उद्योग वाणिज्य संघ, यातायात व्यबसायीका प्रतिनीधिहरु संलग्न हुने बताईएको छ । पाथीभरा सिजनको पुर्वसन्ध्यामा तिर्थयात्रीलाई सहजताका लागि आवश्यक व्यवस्थापनका लागि आज बैठक बसेको प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाई छ ।
यसैबीच ताप्लेजुङका प्रहरी नायव उपरिक्षक सन्जय सिंह थापाले ताप्लेजुङमा बढ्दै गएको उश्रृंखल गतिविधिलाई पुर्णरुपमा नियन्त्रण गरिने बताए । मादक पदार्थ सेवन गरेर झगडा गर्ने, अनावस्यक धाकधम्कि लगाउने, बजार क्षेत्रमा सवारीसाधनको स्पिड बढाउने, लागु पदार्थ ओसार पसार तथा सेवन गर्नेलाई कडाईका साथ निगरानी लिन थालिएको उनको भनाई छ । उसृंखल गतिविधि गरेर शान्ति सुरक्षामा चुनौती थप्नेलाई कसैको प्रभाव र दवावमा नपरि कारबाहीको दायरामा ल्याउने उनले प्रतिवद्धता व्यक्त गरे । यस्तै सदरमुकाम क्षेत्रमा सिसि क्यामेर थप गरि हरेक आपराधिक घटनालाई नियन्त्रणमा लिने पनि उनको भनाई छ ।