तेह्रथुम/ नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठन लिम्बुवान स्वायत्त प्रदेश तेह्रथुमले कर नर्तिन आग्रह गरेको छ ।
सङ्गठनका तेह्रथुमका प्रमुख हिमालद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर नतिर्न जिल्लावासीलाई आग्रह गरेको छ । देशका दक्ष जनशक्तिले अरबको खाडीमा पसिना बगाएर पठाएको रेमिट्यान्सबाट सरकारका उच्च पदस्थहरूले सेवासुविधा भोग गरिरहेको र अर्काेतर्फ जनप्रतिनिधिले जनतासँग वृहत्तर कर असुल गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यसरी वृहत्तर रूपमा असुल गरेको करले जनप्रतिनिधिका लागि भोग विलास र सुविधा विस्तार गरिरहेका छन्, जुन जनता र देशको समृद्धिको नारा अगाडि सारेर जनताको पसिनामा ब्रम्हलुट गर्न थालेको’ विज्ञप्तिमा उल्लेख छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता जनताका आधारभूत अधिकारप्रति सरकार ग्रैह्र जिम्मेवार बन्दै जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर तुरुन्त फिर्ता लिन पनि लिम्बुवान स्वायत्त प्रदेशका प्रमुख हिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यसरी वृद्धि गरिएको कर नतिर्न र बहिष्कार गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ । भ्रष्टचार, महँगी र दलालीका कारण आकुल भइरहेका जनताका आधारभूत विषयमा समेत भारी करको दायित्व थोपरेर जनता माथिको लुटको नयाँ थालनी सरकारले शुरु गरेको विज्ञप्तिमार्फत आरोप लगाइएको छ ।