वराहक्षेत्र/ वराहक्षेत्रको आदर्श खानेपानी तथा सरसफाई समितिले उपभोक्ता लाई २४ घण्टा खानेपानी उपलब्ध गराउँदै आएको छ । उपभोक्ताबाट सञ्चालित २४ सै घण्टा पानी खुवाउने सम्भवत नेपालकै यो पहिलो हो । समितिले पम्पिङ सिस्टमबाट खानेपानी उपलब्ध गराउँदै आएको छ । नेपालका ४० हजार खानेपानी समितिहरूमध्ये २४ घण्टा पानी उपलब्ध गराउने समिति यो मात्रै भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका डिभिजन इञ्जिनियर देवनाथ सिंहले बताए । ‘वराहक्षेत्र नगरपालिका–२ मा रहेको आदर्श खानेपानी समितिले आफ्ना उपभोक्तालाई निरन्तर स्वच्छ पानी उपलब्ध गराउँदै आएको छ, डिई सिंहले भने, ‘यो समिति पूर्वाञ्चलको ग्रामिण क्षेत्रको नमूना खानेपानी समिति हो ।’ आदर्शले ३ वटा बोरिङबाट पानी उत्पादन गरेर ४ सय ८० उपभोक्तालाई पानी वितरण गर्दै आएको समितिका सचिव लालकुमार राईले बताए ।
सचिव राईका अनुसार वडाको पुनरबासमा रहेको खानेपानीको वसन्त चोकमा २ वटा र सुम्निमा स्मृति चौकको कार्यालय परिसरमा एउटा साथै १ लाख लिटरको ओभरहेड ट्याङ्कीमार्फत पानी वितरण हुँदै आएको छ । ‘हामीसँग विद्युत स्रोतका लागि ३ विकल्प छन्, पहिलो, खानोपानी तथा ढल निकास विभाग पानीपोखरी काठमाडौंबाट प्राप्त ४० लाख ९० हजार मूल्य पर्ने ७ दशमलव ५ किलोभोल्ट क्षमताकोे ६० वटा प्यानल भएको सोलार पम्प, दोस्रो ४० किलोभोल्टको जेनेरेटर १ थान र १ सय केभीको हाइभोल्टेज तथा लोभोल्टेज ट्रान्सफर्मरसहितको विद्युत लाइन ।’ सचिव राई भन्छन्, ‘यसले गर्दा हामीलाई कहिले पनि विद्युतको अभाव हुँदैन एउटा गए अर्कोले काम गर्छ ।’ खानेपानीको ८ सय ५० मिटरको ट्रान्समिसन लाइन र साढे दश किलोमिटरको आउटपुट सर्भिसलाइन छ । समितिमा पानीको शुद्धता मापन गर्ने ल्याब छ । वाकटेक मेसिनबाट पानीमा आइरन, क्याल्सियम, पीएच यस्तै पानी शुद्धीकरण गर्ने औषधि ब्लिचिङ र क्लोरिनको सन्तुलन नाप्ने सुविधा रहेको सचिव राई बताउँछन् । बेलाबेलामा कोलीफर्मको परिक्षणसमेत गर्ने गरिएको उनको भनाइ छ । खानेपानी समितिले प्रति दशहजार लिटर खपत गरेवापत् १ सय २५ रुपैयाँ र ५ हजार लिटरमा १ सय ५ रुपैयाँ शुल्क लिने गरेको छ । उठेको महशुलबाट प्रत्येक उपभोक्ताबाट १० रुपैयाँ सुरक्षा कोषका लागि सङ्कलन गर्दै आएको छ ।
०६७ सालमा स्थापित आदर्श खानेपानीले चाडै २ लाख २५ हजार लिटरको ट्याङ्की र डिप बोरिङ गर्ने तयारी गरेको छ । संस्थाको आम्दानीको लागि टयाङ्करबाट पानी बिक्री गर्ने योजना रहेको समेत उनले सुनाए ।