रङ्गेली/ प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले राजस्व परामर्श समितिको सुझावका आधारमा कर निर्धारण गरेकाले प्रदेशको कर वैज्ञानिक भएको दाबी गरेका छन् ।

प्रदेश सभामा उठेको सवालहरूको जवाफ दिने क्रममा उनले सबै क्षेत्रसँग राय लिएरै कर वृद्धि गरिएको जिकिर गरे । उनले उद्योग वाणिज्य महासङ्घको सुझाव अनुसार नै कर निर्धारण गरेकाले निजी क्षेत्रले प्रदेश सरकारलाई दोष लगाउन नमिल्ने बताए ।  अर्थमन्त्री आङ्बोले स्थानीय सरकारले कतिपय कर नजानेर वा नबुझेर लगाएकाले त्यसको विषयमा प्रदेश सरकार छलफल र अध्ययन गरी समाधान गर्ने तयारीमा रहेको जिकिर गरे । उनले पञ्जीकरण राज्यकै दायित्व रहेकाले स्थानीय सरकारले त्यसमा लगाएको कर गलत भएको बताए । उनले करको विषयलाई लिएर राज्य व्यवस्थामाथि प्रहार भइरहेको बताए ।