बिर्तामोड । झापामा बालिका बलात्कारको घटना भयावह बन्दै गएको छ । अघिल्लो बर्षहरुमा भन्दा यो बर्ष बलात्कारको घटनामा अस्वभाविक रुपमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

आर्थिक बर्ष २०७२/०७३ को ६ महिनामा भएको बलात्कारको घटनाको जति संख्या चालु आर्थिक बर्षको ५० दिनमा पुगेबाट बलात्कारको घटना भयावह बन्दै गएको प्रमाणित भएको छ । आर्थिक बर्ष २०७२/०७३ को १२ महिनामा झापामा ७२ वटा बलात्कारको घटना भएको प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । चालु अर्थिक बर्षको ५० दिनमा यो संख्या ३५ पुगेको छ ।

यसैगरी आर्थिक बर्ष २०७३/०७४ मा ७४, २०७४/०७५ मा १ सय ३३ र चालु आर्थिक बर्षको ५० दिनमा बलात्कारको घटना ३५ वटा दर्ता भएको झापाका एसपी भिमप्रसाद ढकालले जानकारी दिए । उनले बिगत बर्षहरुको तुलनामा बलात्कारका घटना अस्वभाविक रुपमा बढिरहेको बताए ।

डर, त्रास देखाएर, बिवाहको प्रलोभन, आर्थिक प्रलोभन, जवरजस्ती करणी, शरिर बन्धक बनाई, जनचेतनाको कमीका कारण, सामाजिक सञ्जालको दुरुपयोग, मनौबैज्ञानिक र भावनात्मक ब्ल्याकमेलिङ गरेर बलात्कारको घटना हुने गरेको एसपी ढकालले बताए । उनले १६ बर्ष मुनीका धेरै बालिका बलात्कारको शिकार हुने गरेको बताउँदै पिडक भने १६ देखि ३० बर्षको उमेरका धेरै हुने गरेको पाइएको जानकारी दिए ।

गाउँ भन्दा शहरमा बलात्कारका घटना धेरै हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । शहरका होटलमा कडा नियम लागु गर्न सके बलात्कारका घटना केही हदसम्म नियन्त्रणमा आउन सक्ने प्रहरीले जनाएको छ । झापा प्रहरीले पनि बलात्कारका घटना न्युनिकरणका लागि टोल टोलमा प्रहरी गस्ती गर्न थालेको छ । प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले भदौ ३ गतेदेखि सादा पोषाकमा ५० जना सहित गाउँ शहरका भित्रि टोलमा २ सय ३५ जना प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले ब्यापक रुपमा प्रहरी परिचालन गरेको बताइरहेका समयमा पनि बलात्कारका घटना भइरहेका छन् । बलात्कार नियन्त्रणका लागि प्रहरी परिचालन भएपछि पनि अर्जुनधारा नगरपालिका ७ मा एकजना एकल महिलामाथि बलात्कारको प्रयास भएको हो । यसबाट प्रहरी परिचालन वा सचेतना अभियानकै कारण मात्र बलात्कारका घटना न्युनिकरण हुनेमा शंका उत्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का झापा प्रतिनिधी अर्जुन बस्नेतले इन्टरनेटको सहज पहुँचका कारण बलात्कारका घटना बढेको बताउँछन् । युवाहरुमा इन्टरनेटको माध्यमबाट अश्लिल चलचित्र हेर्ने क्रम बढेको कारण उनीहरुमा आपराधिक मानसिकता बढेसँगै बलात्कारका घटना पनि तेब्बर बढेको उनको अनुभव छ । कानुन ब्यवसायी समेत रहेका बस्नेतले पिडकले अदालतमा दिएको बयानबाट पनि इन्टरनेटको दुरुपयोगका कारण यस्ता घटना बढेको खुल्ने गरेको बताए । टोल टोलमा प्रहरी परिचालन गरेर यौनजन्य हिंसाका घटना न्युनिकरण हुन नसक्ने उनले बताए ।

पहिला पनि कुनै न कुनै यौनजन्य अपराधका घटनामा संलग्न भएकाबाट बलात्कारको घटना भएको पाइएको झापाको अर्जुनधाराका एकजना सामाजिक अभियन्ता कमल पोखरेलले बताए । ‘अर्जुनधारा नगरपालिकामा भएका बलात्कारमा संलग्न अभियुक्तहरु पहिलापनि सोही घटनामा संलग्न भएको पाइएको छ, उनीहरुलाई परिवारको, राजनीतिक दलको लगायतका संरक्षणबाट अपराध कर्ममा हौसला मिलेको देखिन्छ, पोखरेलले भने ‘उनीहरुलाई कानुनले तोके अनुसारको सजाय मात्र हुने हो भने बलात्कारका घटना आधा जति न्युनिकरण हुन्छ ।’ ‘सालबारीका मानबहादुर बानियालाई कानुन बमोजिम सजाय दिएको भए उनी अहिले जेलमै हुन्थे, पोखरेलले भने ‘पुरा सजाय भुक्तान नगरी गाउँ आएका उनले बीचैमा एकजना बालिकामाथि बलात्कार गरे ।’ पोखरेलले बानिया पहिले पनि यौनजन्य हिंसाको घटनामा जेल बसेर रिहा हुने बित्तिकै बालिकामाथि बलात्कार गरेको बताए ।

बलात्कारमा संलग्न अधिकांस अभियुक्तहरु बिद्यालय जान छोडेका हुन्छन् । चोरी गर्ने, झगडा गर्ने जस्ता सामाजिक वितण्डामा संलग्न हुने गरेका युवाहरु पिडक हुने गरेका छन् । एकचोटी बलात्कारको प्रयास गरेको अभियुक्तलाई उसको घरका सदस्यले संरक्षण गरेको घटनाबाट प्रेरित हुने हनाले दोस्रो पटक घटना गराएको पाइएको छ ।

अधिकांस घटनामा आफन्तबाट नै बालिकाहरु असुरक्षित भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । धेरैजसो पीडितका अभिभावकले बिश्वास गरेका संरक्षकबाट नै यस्ता घटना हुने गरेको पाइएको छ । आपराधिक मनोबृति भएका ब्यक्तिबाट जोगिनु नै बलात्कारको शिकार हुनुको पहिलो बिकल्प हो ।