बिर्तामोड । जबरजस्ती बलात्कार तथा बलात्कार प्रयास गर्ने ४ जना पुर्पक्षको लागि थुनामा गएका छन् । बलात्कारको घटनामा संलग्न एक बालकलाई अदालतको आदेश अनुसार झापा प्रहरीले बाल सुधार गृह भक्तपुरमा पठाएको छ ।

झापा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार पुर्पक्षको लागि थुनामा जानेमा अर्जुनधारा नगरपालिका ११ का मानबहादुर बानिया, कनकाइ नगरपालिका ३ का निलम प्रसाद संग्रौला र अर्जुनधारा ९ का पेमा तामाङ र बालकुमार घिमिरे रहेका छन् ।

बानियाले अर्जुनधारा ११ का ९ बर्षिय बालिका, संग्रौलाले सोही स्थानका २३ बर्षिय महिलालाई र तामाङ र घिमिरेले सोही स्थानका १२ बर्षिय बालिकालाई बलात्कार प्रयास गरेका थिए । झापा जिल्ला अदालतको आदेशले उनीहरु पुर्पक्षको लागि थुनामा गएको प्रवक्ता बस्नेतले बताए । यसैगरी अर्जुनधारा नगरपालिका २ मा ४ बर्षिय बालिकामाथि बलात्कार गर्ने सोही स्थानका एक बालकलई भक्तपुरको बाल सुधार गृहमा पठाइएको प्रहरीले जनाएको छ । नाबालकले जेल जानुपर्ने अवस्था आउने गरी कसुर गरेमा बाल सुधार गृहमा राख्न अदालतले आदेश दिने गरेको छ ।