धरान । साफ च्याम्पियनसिप अन्तर्गतकाे दाेस्राे खेलमा नेपालले भुटानलार्इ ४–० ले पराजित गरेकाे छ । खेल अवधी भरी भुटानलार्इ दबाबमा राखेकाे नेपालले १० खेलाडीमा सिमित भुटानलार्इ सहजै पराजित गरेकाे हाे । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए । त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्‍याए । भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४-० ले जिताए । 4SHARES