धनकुटा । एक नम्बर प्रदेशलाई लिम्बूवान–किराँत–खम्बूवान नामाकरण गर्न माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बूवान मञ्च नेपालले विहिवार धनकुटामा खबरदारी सभा गरेको छ । प्रदेश नम्बर १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा नामाकरण गर्न प्रदेश सरकारले तयार नभएको उल्लेख गर्दै संघीय लिम्बूवान मञ्च नेपालले खबरदारी सभाको आयोजना गरेको हो । खबरदारी सभामा बोल्दै संघीय लिम्बूवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिंङदेनले लिम्बूवान तथा किराँतहरुको थाकथलोको रुपमा रहेको एक नम्बर प्रदेश ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बूवान–किराँत–खम्बूवान नामाकरण गर्न उपयुक्त रहेको बताए । प्रदेश नम्बर १ लाई कोशी वा सगरमाथा प्रदेश राख्न प्रदेश सरकार अगाडी बढेको उल्लेख गर्दै सरकारलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामाकरण गर्न खबरदारी सभाको आयोजना गरिएको केन्द्रीय अध्यक्ष लिंदेनले बताए । लिम्बूवान–खम्बूवान जाति विशेष नभएर यो पहिचान भएको उल्लेख गर्दै केन्द्रीय अध्यक्ष लिंङदेनले प्रदेश नम्बर १ लाई लिम्बूवान–किराँत–खम्बूवान नामाकरण गर्दा जातिय राज्य नहुने स्पष्ट पारे । प्रदेश नम्बर १ लाई पहिचानको आधारमा नामाकरण नगरे जस्तोसुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गर्दै अध्यक्ष लिंदेनले सहमतिको आधारमा ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामाकरण गर्न माग गरे । उनले भने–‘लिम्बूवान राज्य प्राप्तिको लागि धेरै शहिद भए । अब फेरी पनि राज्यले लिम्बूवानी जनतालाई उपेक्षा गरे जनताहरु अधिकार प्राप्तिको लागि जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताए ।’ मञ्च सम्बद्ध धनकुटा जिल्ला अध्यक्ष छत्र इङ्नाम, सुनसरी, मोरङ, पाँस्थर, ताप्लेजुङ, इलाम, संखुवासभा, झापा, तेह्रथुम जिल्लाबाट आएका जिल्ला अध्यक्षहरुले स्थानीय सरकारले जनताको ढाँड सेक्ने गरी कर बृद्धि गरेको उल्लेख गर्दै तत्काल घटाउन माग गरे । स्थानीय सरकारले अवैज्ञानिक ढंगले करमा मुल्य बृद्धि गरेर जनतालाई दुःख दिएको पनि उनीहरुले आरोप लगाए । संघीय लिम्बूवान मञ्च नेपाल प्रान्तिय कार्य समिति धनकुटाको आयोजनामा आयोजित खबरदारी सभा गर्नु पूर्व मञ्चले नारा जुलुस सहितको विरोध ¥याली प्रर्दशन गरेको थियो । धनकुटाको मदनचोकबाट शुरु भएको ¥याली हुलाकटोल, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे, टुँडिखेल हुदै पुनः मदनचोकमा आएर सभा गरिएको थियो । खबरदारी सभामा धनकुटा सहित विभिन्न जिल्लाहरुबाट मञ्च संम्बद्ध कार्यकर्ताहरुको हजारौंको सख्यामा सहभागिता रहेको थियो ।