रङ्गेली/मोरङ जिल्ला समन्वय समितिले दोस्रो जिल्ला सभाबाट ७५ लाखको नयाँ गाडी खरिद गर्ने निर्णय गरेको छ । स्थानीय सरकारले महँगो गाडी किनेर आलोचित बनिरहेको बेला स्थानीय सरकारको अनुगमन गर्ने अधिकार पाएको निकाय नै महँगो गाडी किन्न उद्यत देखिएको हो । बा. २ झ ७६८ नम्बरको निशान कम्पनीको गाडी र वा. १ झ ८४७५ नम्बरको टोयटा कम्पनीको ल्याण्डक्रुजर रहे पनि फेरि नयाँ गाडी किन्ने निर्णय गरेको छ । जिसस प्रमुख नरेश पोखरेलले कार्यालयको दैनिक गतिविधि सञ्चालनका लागि सवारी साधन अभाव भएकाले खरिद गर्ने निर्णय गरिएको बताए । कार्यालयका दुईवटा पुराना सवारी साधन भए पनि अनुगमनमा जान सवारी साधन अपुग भई समस्या भएकाले खरिदका लागि रकम विनियोजन गरेको उनले बताए । जिससको आन्तरिक आम्दानी ३५ लाख मात्रै भए पनि ७५ लाखको गाडी किन्न लागेको हो ।