[caption id="attachment_49528" align="alignleft" width="454"] फायलफाेटाे[/caption]

भद्रपुर/ झापामा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । मेचीनगरपालिका–९ माथिल्लो मागुरमाडी बीटी नम्बर २ सामुदायिक वनछेउको धानखेतमा दाह्रा गाडिएको अवस्थामा मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

हात्तीको मृत्युको कारण चट्याङ लागेर हुन सक्ने स्थानीयलाई उद्धृत गर्दै डिभिजनका सूचना अधिकारी तथा सहायक वन अधिकृत नथुनी गोहिवार यादवले बताए । दश फिट लामो र अग्लो रहेको हात्तीको दाह्रा जमिनमा भासिएकाले चोरी हुन नसके पनि पुच्छरको रौं भने चोरी भएको यादवले जनाए । घाँटीको तल्लो भागमा केही कालो भएकाले करेन्ट लागेको आशङ्का गरिए पनि पोष्टमार्टमको रिपोर्ट नआएसम्म मृत्युको कारण खुल्न नसक्ने उनको भनाइ छ । हात्तीलाई स्थानीयले बिहीबार देखेपछि वन कर्मचारीलाई खबर गरेका थिए । योसँगै झापामा जङ्गली हात्तीको मृत्यु सङ्ख्या १० पुगेको वन कार्यालयले जनाएको छ ।