पथरी/ सम्पति हुँदा सबै आफन्त र आफ्ना, नहुँदा बिराना । मोरङ पथरीशनिश्चरे –८ दोहोलु शुक्रबारे घर भएका पूर्व प्रहरी विष्णु सेन्चुरीको कथा यस्तै छ । ३२ वर्षीय सेन्चुरी अहिले आफ्नो प्वाल परेको मुटु लिएर घर–घर, सङ्घ–संस्था चाहारिरहेका छन् । मुटुको उपचार गर्न सकिनसकी सहयोग माग्दै हिँडेका छन् । ‘बुवा १५ वर्ष अघि नै घर छाडेर कता गयो थाहा छैन्, अहिलेसम्म घर फर्केको छैन, श्रीमती सम्बन्धविच्छेद गरी ६ वर्षकी छोरी लिएर हिँडी ।’ एक्लै परेका विष्णुले पीडा पोखे । पारिवारिक पीडा उत्तिकै छ । आमा देउमाया हृदयघातका कारण मरिन् । सबैले छाडेर हिँडेपछि उपचार खर्च जुटाउन विष्णुलाई समस्या परेको छ ।  वडा कार्यालयले मुटु प्वाल परेको उपचारमा आर्थिक अभाव भएको सिफारिस दिएको छ । यही सिफारिस बोकेर गाउँगाउँमा विष्णु सहयोगको अपिल गर्दै हिँडिरहेका छन् । नाइकेहरूको कुटाइबाट आफूलाई रोग लागेको विष्णु बताउँछन् । झुम्का कारागारमा चौकीदार वीरेन्द्र मेहेताले टोपी बुन्ने मदानीले ढाड, करङ, छातीमा जहिले कुट्ने र कुट्न लगाउने गर्थे । जहिले नाइकेहरूले झडप गर्ने, त्यसपछि कुटाइ खाइने भएपछि रोगी भएको उनको कथन छ । जेलबाट निस्कने बित्तिकै उनले इटहरीको ओपेक्स हस्पिटलमा स्वास्थ चेक गर्दा मुटुमा समस्या भएको देखाएपछि विराटनगरस्थित नोबेल अस्पतालमा स्वास्थ जाँच गराएका थिए । नोबेल हस्पिटलले पनि मुटुमा समस्या भएको देखाएपछि सेन्चुरी उपचारका लागि सहयोग सङ्कलन गर्न थालेका हुन् ।

२०६१ साल पुसमा नेपाल प्रहरीमा भर्ना भएका सेन्चुरी आफ्नै गल्तीका कारण साढे ६ वर्ष जेल जीवन बिताएर बाहिरिएका हुन् । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर उनलाई राज्यले जेलमुक्त गरेको थियो । विराटनगरस्थित जलजला चोकमा ड्युटीका क्रममा निदाएका विष्णुको सटगन खस्दा १४ वर्षीय बालकको गोली लागी मृत्यु भएको थियो । ड्युटीमा अनिँदो अवस्थामा रहेका विष्णुले भुइँमा खसेको सटगन टिप्ने हुँदा घरमाथि रहेका १४ वर्षीय बालकलाई गोली लागेको थियो । घटना २०६९ पुष १६ गते बिहान ६ बजे भएको थियो । ‘सटगन भुइँमा खस्दा कक (रेडी) भएको रहेछ, भुइँबाट टिप्ने हुँदा सटगनको टेगरमा औँला लागेपछि पड्कियो ।’ सेन्चुरी भन्छन् । उनलाई जिल्ला अदालतले २० वर्ष जेल सजाय तोक्यो । पुनरावेदन अदालतले १८ वर्ष र सर्वोच्च अदालतले १६ वर्ष सजाय सुनायो ।  तर उनी गणतन्त्र दिवसका अवसरमा साढे ६ वर्षपछि जेलमुक्त भए । जेलपरेपछि श्रीमतीले ६ वर्षिय छोरी लिएर हिँडिन् । जेलमै सम्बन्धविच्छेद माग गरेको विष्णुले सुनाए । हाल विष्णुको उपचार गर्न ९ लाख रुपैयाँ लाग्ने भएको छ । तर नगरपालिकाको सिफारिसमा केही छुट हुने भएपछि थप रकमका लागि सहयोग माग्दै हिँडेका छन् । उनले फोन नम्बर (९८००९९८८१९) मार्फत सहयोग गर्न आग्रह गरेका छन् ।