वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले चतरा–बयरवन जोड्ने प्रमुख लालबस्ती सडकमा सडकबत्ती राख्ने बताए पनि हालसम्म बत्ती जडान नगर्दा स्थानीयले दुःख पाएको गुनासो गरेका छन् । वराहक्षेत्र नगरपालिकाले साउन महिनमा नै बत्ती राख्ने बताए पनि बत्ती जडान नभएपछि स्थानीयले असुरक्षित भएको गुनासो गरे । स्थानीय बयरबनबाट चतरा जाँदा बीचमा पर्ने जङ्गलले गर्दा असुरिक्षत भएको भन्दै स्थानीय लालबस्तीवासीले २ महिना अघि सडक बत्ती राख्न माग गरेका थिए । चतराबाट प्रवेश गर्ने चल्तीको मुख्य सडक जङ्गलक्षेत्रमा पर्छ । साँझ हुने बित्तिकै सडक सुनसान हुने गर्दछ, आफ्नो घर पनि सोही सडक भएर जानुपर्ने भएकाले बत्ती नहुँदा डर लाग्ने गरेको चतरा लालबस्तीकी कमला भट्टराईले भनिन् ।
चतरा–बयरवन दुवै बजारमा मानिसको व्यापार व्यवसाय भएकाले राति अबेरसम्म ओहोर–दोहोर हुन्छ । ‘चाडपर्वको मौसम पनि शुरु भएको छ राति घर फर्कंदा त्यसै त बाटो सुनसान अनि अँध्यारो हुने भएपछि त्रास हुन्छ ।’ चतरा गैरी टोलका भविन राउत भने । वराहक्षेत्र नगरपालिकाले गएको साउन महिनामा लाग्ने बोलबम मेलादेखि नै स्थानीय खानेपानी समितिदेखि बयरवन बजारको गौरी पुलसम्म सडक बत्ती राख्ने भनेपनि काम गर्न नसकेको राउत बताउँछन् । वराहक्षेत्र–१ सचिव लक्ष्मण पौडेलले आर्थिक वर्ष ०७५/७६ को वडागत योजनामा सडक बत्ती लगाउने योजना समावेश नभएको बताए ।
वडामार्फत् १ नम्बर वडाले योजना बनाएर पठाए नगरपालिकाले सडक बत्ती लगाउन सक्ने वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताए ।