बिर्तामोड/ दुई वर्षअघि सम्पन्न भएको महापुराणसहित संस्थाको आय–व्यय सार्वजनिक तथा साधारण सभाको माग गरेका पाँच जना विरुद्ध अर्जुनधारा नगरपालिकाअन्र्तगतको न्यायिक समितिमा उजूरी परेको छ । अर्जुनधारा–७ रमाइलोबस्तीस्थित दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिका जग्गादाता तथा आजिवन सदस्यले साधारणसभाको आयोजना गरि मन्दिरको आय ब्यय समेत सार्वजनिक गर्न माग गर्दा मानहानीको मुद्दाको सामना गर्नुपरेको हो । आफुहरुको मानहानी गरेको भन्दै हालको मन्दिर समितिले मन्दिरका जग्गादाता पृथ्वीबहादुर लामिछाने, आजिवन सदस्यहरु इन्द्रबहादुर लामिछाने, घनेन्द्र काफ्ले, धुव्रराज ढुंगाना र युवराज पौड्यालबिरुद्ध नगरपालिकाको न्यायिक समितिमा उजूरी गरेको हो ।

भाद्र १६ गते स्थानीयले मन्दिरको आय ब्यय सार्वजनिक गर्न माग गर्दै सबरोधसभा आयोजना गरेका थिए । आजिवन सदस्य दुर्गा बस्नेतको अध्यक्षतामा हिसाव किताब सार्वजनिक गर्न माग गर्दै बिरोधका कार्यक्रम गरेका उनीहरु विरुद्ध समितिले मानहानीको आरोपसहित निवेदन पेश गरेको हो । समितिकी अध्यक्ष यशोदा गुरागाईं निरौलाले दर्ता गरेको निवेदनमा उक्त समस्या समाधान गर्न सोही वडाका वडाध्यक्ष नवराम ढुंगाना “नविन” गम्भिर नभएको आरोपसहित वडाध्यक्ष ढुंगानालाई पनि बिपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।  उजूरी परेका आजीवन सदस्यहरुमध्येका धुव्रराज ढुंगानाले संस्थाको हिसाब सार्वनिक गर भनेको विषयमा समितिले आफूहरुविरुद्ध मानहानीको आरोप लगाउनु गलत भएको बताउँछन् । “हामीले हिसाब सार्वजनिक गर,‘म्याद पुगेको समितिको साधारण सभा गर भन्न पनि नपाउने”– उनले भने । उजूरी पत्रमा उल्लेख गरे अनुसारको समितिका कोही विरुद्ध मानहानी हुने किसिमको कार्यहरु सञ्चालन नगरेको उनीहरुको दावी छ । त्यसैगरी अर्का आजिवन सदस्य इन्द्रबहादुर लामिछानेले विगत आठ महिनादेखि समितिले मन्दिरमा तालाबन्दी गरी कुनैपनि गतिविधि सञ्चालन नगर्नु शंकास्पद भएको बताए ।

केही दिनअघि श्रीकृष्ण जन्माष्टमीको सन्दर्भमा पूजाअर्चना तथा साँझ भजनकिर्तन गर्न अध्यक्ष निरौलाले मन्दिरमा लगाएको तालाको चाबी नदिन सदस्य गोमा दाहाललाई निर्देशन दिएको जग्गादाता पृथ्वीबहादुर लामिछानेले खुलासा गरे । पछी पूजाअर्चना र साँझ भजनकिर्तनको लागि धेरै संघर्ष गर्नुपरेको उनले बताए । यता यस विषयमा वडाध्यक्ष ढुंगानासँग बुझ्दा आफूलाई समितिले आय–व्यय सार्वजनिक र साधारण सभा नगरेको निवेदन प्राप्त भएपछी साधारण सभा गर्न मिति तोकी आय–व्यय सार्वजनिक गर्न समितिको नाममा पत्र काटेको बताए । वडा कार्यालयबाट पत्र काटेपछी गत भदौ १६ गते साधारण सभा गर्ने व्यहोरा उल्लेख भएको पत्रसहित तत्कालिन पण्डित जगदीश पौड्यालको संयोजकत्वमा गठन भएको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ आयोजक समितिले तयार पारेको महायज्ञको आर्थिक प्रतिवेदनमात्र प्राप्त भएको वडाध्यक्ष ढुंगानाले बताए । “बाँकी कुरामा समितिले कुनै पनि जानकारी मलाई गराएको छैन”– उनले भने । त्यसैगरी समितिकी अध्यक्ष निरौला भने मन्दिर परिसरमा पटक–पटक आय–व्यय सार्वजनिक गर्न मिति तोके पनि सबै भेला नभएको हुँदा तेस्रो पटक उपस्थित भएकाहरुबीच आर्थिक प्रतिवेदन सार्वजनिक गरेको बताउँछीन् । उनीहरुले लगाएको आरोप निराधार भएको भन्दै उनले वैशाख अन्तिमबाट मन्दिरमा ताला लगाइएको र आवश्यक समयमा धार्मिक गतिविधिहरु सञ्चालन हुने गरेको दावी गरिन् ।