विराटनगर/ठूलो परिमाणमा प्रहरीले प्रतिबन्धित पटाका पक्राउ गरेको छ । आयातमा पूर्ण प्रतिबन्धित पटाका चाडपर्व नलागी नै भित्रिन थालेको हो ।  दशैं, तिहार र छठ पर्व शुरु हुन एकमहिनापूर्व नै ‘चोर बाटो’ प्रयोग गरेर पटाका भित्रिएको छ । चाडपर्वका बेला प्रहरीको निगरानी बढी हुने भएकाले अहिलेदेखि नै तस्करहरू सक्रिय बन्न थालेका हुन् । खुल्ला सीमाको फाइदा उठाउँदै चोर बाटोबाट ठूलो परिमाणमा पटाका बरामद भएपछि चाडपर्वपूर्व नै पटाका भित्रिने गरेको रहस्य खुलेको हो । विराटनगर–१५ जानकी मन्दिर नजिकैबाट सशस्त्र प्रहरीको टोलीले भारतको जोगवनीदेखि ल्याउँदै गरेको ६० हजार मूल्य बराबरको पटाका शुक्रबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वार्टर (राजश्व गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङका डीएसपी सुरेन्द्रराज रञ्जितले मटेरूवा नाका हुँदै ल्याइएको पटाका बरामद गरिएको बताए ।

सशस्त्रको टोलीलाई देखेपछि पटाका भिœयाउने धन्दामा सक्रिय रहेकाहरू फरार भएका छन् । प्रहरीले फरारहरूको खोजी कार्यलाई तीव्र बनाएको छ । प्रहरीले फूलझरी, झिरझिरे, गमला बम, खोर्सानी बम, आलु बम, रकेट बमजस्ता पटाका बरामद गरेको छ । डिएसपी रञ्जितले विराटनगर भन्सार कार्यालयको विभिन्न ढाटमा चेकजाँचका लागि बस्दै आएको सशस्त्रको टोलीले पनि थोरै परिमाणमा दैनिकजसो पटाका बरामद गरिरहेको बताए । उनले बरामद गरिएका सबै पटाका ‘डिस्पोज’ गरिने जानकारी दिए । पटाकाले ठूला–ठूला आवाज दिँदा जनजीवन आतङ्कित हुने साथै जनधनको क्षति पुग्ने भएकोले पटाका आयातमा सरकारले रोक लगाएको हो ।  सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वार्टर मोरङ ३ नम्बर गणका एसपी मनिष थापाका अनुसार पटाकाको अवैध आयात हुन थालेपछि उच्च सतर्कता अपनाएर कडाइ थालिएको बताए । ‘चोरी, निकासीलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन अहिले सुरक्षा कडा पारिएको छ’ एसपी थापाले भने, ‘त्यसका लागि सशस्त्रको विशेष टोली नै परिचालन गरिएको छ ।’

अवैध रूपमा पटाका भित्रिन थालेपछि जनपथ प्रहरीले पनि छुट्टै निगरानी गर्न थालेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले सादा पोसाकमा विशेष प्रहरी परिचालन गरेको दाबी गरेको छ । प्रतिबिन्धत पटाका भिœयाउन नदिन सुरक्षा व्यवस्था कडा गरिएको इप्रका रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।