विराटनगर/ सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक हालसम्म पनि कार्यान्वयन नगरेको भन्दै संयुक्त ट्रेड युनियनले आन्दोलनको चेतावनी दिएको छ । चार ट्रेड युनियनले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै चेतावनी दिएका हुन् । ७ दिनभित्रमा आधारभूत पारिश्रमिक ८ हजार ४ सय ५५, महँगीबाट ४ हजार ९ सय ९५ गरी १३ हजार ४ सय ५० रुपैयाँ मासिक र दैनिक पारिश्रमिक र महँगीबाट गरेर ५ सय १७ रुपैयाँ दिनुपर्ने युनियनका नेताहरूले बताएका छन् । त्यसका अलावा श्रम ऐन २०७४ ले दिएका सेवा सुविधा, औषधि, बिमालगायतको कानूनी व्यवस्था लागू गर्न पनि नेताहरूले माग गरेका छन् ।
नेपाल ट्रेड युनियन महासङ्घका प्रदेश १ का अध्यक्ष किशोर धमलाले सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी निर्धारण गरेको न्यूनतम पारिश्रमिक हालसम्म पनि कार्यान्वयन नगरेको बताए । पत्रकार सम्मेलनमा नेपाल समाजवादी ट्रेड युनियनका नेता तेजलाल कर्णले उद्योगीहरूले कुनै पनि बाहनामा नेपाल सरकारले तोकेको पारिश्रमिक नदिने भनेर सार्वजनिक अभिव्यक्ति दिनु गैर जिम्मेवारी भएको बताए । उनले अहिलेसम्म निजी अस्पताल, निजी विद्यालय, सेक्युरिटी कम्पनी, डिपार्टमेन्ट स्टोर तथा उद्योगमा अझै पनि बाहानाबाजी गरिरहेको बताए । अब पनि न्यूनतम पारिश्रमिक लागू नगरे संयुक्त ट्रेड युनियन आन्दोलनमा जाने चेतावनी दिए ।
नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल टे«ड युनियन काङ्ग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका प्रतिनिधिले पत्रकार सम्मेलन गरेका थिए ।