ताप्लेजुङ । गतभदौ २१ गते ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङवाट मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवामा हिँडेका पान्जो भोटेलाई लिवाङको छिपछिपेको पहिरो पार गर्दा युद्ध जितेजस्तै भयो । ‘करिब ६० मिटर लामो पहिरोको बिचमा पुगेपछि छेवैबाट ठूला ठूला तीन वटा ढुङ्गा खसे, त्यसपछि हतार हतार गर्दै पारि पुगेँ,’ भोटे भन्छन् , ‘अनिमात्रै अबचाहिँ बाचेँ जस्तो लाग्यो र ढुक्कको सास आयो ।’आफूजस्तो यो बाटो नियमित हिड्ने सबैको नियति यस्तै भएको उनि बताउँछन् ।

सदरमुकाम फुङलिङबाट मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवाहुँदै तीब्बतको सिमाक्षेत्रसँग जोडिएको तोक्पेगोला जाने सडक तथा पैदालमार्ग विभिन्न स्थानमा पहिरोले बगाएपछि स्थानीय जोखिमपूर्ण यात्रा गरिरहेका छन् । लिवाङको पञ्चेश्वरि मावि छेउसम्म सडक भएपनि सवारि चल्न सक्दैनन् । त्यहाँबाट माथि पैदलमार्ग मात्रै छ ।

तीन वर्ष अघि पहिरोले छिया छिया पारेको वडा नं ३ लिवाङमा अहिलेपनि पहिरो खस्ने क्रम रोएिको छैन । वडा नं १ खोक्लिङबाट लिवाङ, साँवा र पापुङ जोड्ने सडकको ट्रयाक खोल्न सुरु भएको वर्षौ भइसकेको छ । वर्षेनी हिउँदमा सडक खन्ने गरिएको छ तर वर्खामा आधादर्जन ठाउँमा पहिरोले बगाइदिँदा आवतजावत गर्न कठिनाई भएको स्थानीय बताउँछन् ।

‘पहिरोले हिड्न अप्ठ्यारो त धेरै ठाउँमा बनाएको छ,’ साँवाबाट सदरमुकाम हिँडेका मोहन थलङले भने, ‘त्यसमध्ये पनि छिपछिपेको पहिरोमा जोखिम बढि छ । ’निरन्तर बगिरहने, तल हेर्दा खोलो र माथि पनि झर्न लागेका जस्ता ढुङ्गा भएकाले ज्यान हत्केलामा राखेर हिड्नुपर्ने अवस्था रहेको थलङ बताउँछन् । उक्त बाटोमा बिरामी, वृद्ध–वृद्धा र विद्यार्थीलाई झनै सास्ती रहेको स्थानीय नरेन्द्र लिम्बुले बताए ।

लिवाङ र साँवाको बिचमा रहेको ताक्तिममा पनि पहिरो नरोकिएपछि वडा नं १, २ र ३ मा नागरिकलाई गाउँपालिका केन्द्र जान समस्या भएको लिम्बुको भनाई छ । केहि बिरामी भएर अस्पताल लानुपरे बाटै नरहेको वडा सदस्य गोपी अधिकारी बताउँछन् । ‘तीन वर्ष अघिको पहिरोमा परिवार र आफन्त गुमाउँदाको पिडा निरन्तरको पहिरोले भुल्न सकेका छैनौं,’ अधिकारि भन्छन्, ‘पहिरोको बिचमा बसेका छौं, गाउँपालिका तर्फ जाने बाटोमा पहिरो र सदरमुकाम जाने बाटोमा पनि पहिरो नै गइरहेको छ ।

’पहिरोग्रस्त क्षेत्र नै घोषणा गरेर यस क्षेत्रलाई प्रथमिकतामा राखेर काम गरिरहेको भएपनि पहिरोले हैरान बनाएको गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष दिपेन्द्र लिवाङले बताए । गतवर्ष पनि यहि सडकमा गाउँपालिकाले २ करोड रुपैयाँ खर्चिएको थियो । यस वर्ष एक करोड विनियोजन गरिएको छ । ‘हाम्रो वडालाई पहिरोले सह्रै दुःखदियो, सकेसम्म त गरिरहेका छौं,’ वडाध्यक्ष लिवाङले भने,‘पहिरोले गर्दा अरु क्षेत्रको विकासमा ध्यान दिनै पाइएन ।’गाउँपालिकाको मात्रै बजेटले नपुग्ने हुँदा अब प्रदेश र केन्द्र सरकारले नै पहिरो क्षेत्रकालागि चासो दिनुपर्ने उनको भनाई छ ।