बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिकाका एकजना वडाध्यक्षले आफुले एक बर्षमा पारिश्रमिक बापत पाएको सम्पुर्ण सेवा सुविधा वितरण गरेका छन् । वडाध्यक्षले आगामी ५ बर्ष पाउने सुविधा पनि स्थानीय संघ संस्थालाई वितरण गर्ने घोषणा गरेका छन् ।

हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष होमप्रसाद चुँडालले आफुले पाएको पारिश्रमिक लगाउतका सुविधा वितरण गरेका हुन् । उनले जनप्रतिनिधिको हैसियतले आफुले पाएको मोटरसाइकल समेत गाउँपालिकालाई फिर्ता गरेका छन् ।

‘चुनावी घोषणापत्रमा हामीले पारिश्रमिक लिने भनेका थिएनौ, अध्यक्ष चुँडालले भने–‘जनतालाई करको बोझ बोकाएर जनप्रतिनिधिले सेवा सुविधा लिनु उचित नलागेर एक बर्षमा लिएको सम्पुर्ण सुविधा वितरण गरेको हुँ ।’ उनले हालसम्म पारिश्रमिक लिएकोप्रति मतदाता सामु क्षमायाचना समेत गरेका छन् ।

पारिश्रमिक तोकेर जनप्रतिनिधीले लोकसेवा पास गरेर जागिर खाएको कर्मचारी जस्तो भएको भनाई उनको छ । उनले आफुलाई कर्मचारीभन्दा जनप्रतिनिधी भएर काम गर्न उचित लागेको हुनाले सम्पुर्ण सुविधा वितरण गरेको जनाएका छन् । उनले घोषणापत्रमा लेखेको कुरालाई हुबहु कार्यान्वयन गर्ने समेत बताए ।

‘गाउँपालिकाले जनताको ढाड सेक्ने गरी कर लगाएको छ, त्यो करबाट तलब लिएर मोजमस्ती गर्नु नैतिकताले दिएन, चुँडालले भने–‘पहिले १ सयमा हुने काम अहिले कम्तीमा ५ सय रुपैंयाँ पर्छ, यो सहन सकिन ।’ उनले आफ्नो वडाका बिपन्न समुदाय, जेष्ठ नागरिक, अपाङगता भएका ब्यक्ति र एकल महिलाले वडाबाट कुनै काम गर्नु परेमा कर तिर्नु नपर्ने ब्यवस्था गरेको जानकारी दिए ।

अध्यक्ष चुँडाल नेपाली काङ्ग्रेस पाटीबाट बिजयी भएका हुन् । उनले नगरपालिकामा आफु अल्पमतमा परेको हुनाले आफ्नो कुनै कुरा सुनुवाइ नगर्ने गरेको आरोप लगाए । ‘हरेक कुरामा बहुमत र अल्पमत हुँदो रहेछ, चुँडालले भने–‘म एक्लै भएको हुनाले मेरो कुरा सुनुवाइ हुँदैन ।’ राप्रपाका रविन्द्र लिङदेनले चुनाव जितेको त्यस गाउँपालिकामा काङग्रेसबाट बिजयी हुने चुँडाल एक्लो जनप्रतिनिधि हुन् ।

चुँडालले आफुले पाएको पारिश्रमिकबाट सोही वडाको दिपेन्द्र प्रावी र महेन्द्र मावीका २ सय ७५ जना बिपन्न बिद्यार्थीलाई ब्याग वितरण गरेका छन् । महेन्द्र मावीमा ई–कक्षा शुरुवातका लागि समेत १ लाख २४ हजार ३ सय ७५, पाथिभरा पर्यटकिय क्षेत्रको बिकासला लागि १५ हजार र स्थानीय किराँतेश्वर गुरुकुललाई ७० हजार उपलब्ध गराएको उनले बताए । चुँडालले गत जेठमा गाउँपालिकाबाट पाएको मे १ ब ५५६ नम्बरको अपाचे मोटरसाइकल समेत फिर्ता गरेका छन् । प्रदेश सांसद ओम सरावगीको उपस्थितीमा वडा सचिव बिशाल काफ्लेले मोटरसाइकलको साँचो बुझेका थिए ।