बेलबारी । मोरङको डागीहाटमा अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर दोश्रो गोल्ड कपको शनिवार उद्घाटन भएको छ । उद्घाटन खेलमा चर्च ब्वाईज क्लव काठमाण्डौं विजयी भएको छ । डागीहाट युथ क्लवको आयोजनामा प्रस्तावित लक्ष्मीमार्गको रंगशालामा भएको खेलमा धनकुटा ११ लाई ५–३को गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज क्लव काठमाण्डौं विजयी भएको हो । प्रतियोगिताको पहिलो हाफमा चर्च ब्वाईजले ३ र दोश्रो हाफमा २ गोल गरेका थिए । खेल शुरु भएको ८औं मिनेटमा अरुण श्रेष्ठको क्रस पासलाई सदुपयोग गर्दै निरोज बस्नेतले चर्च ब्वाईजको तर्फबाट खाता खोलेका थिए । त्यसैगरी २६ औं मिनेटमा चर्च ब्वाईजकै जङ्बु शेर्पा दोश्रो गोल गरेका थिए । धनकुटालाई पहिलो हाफमा पुरै दवावमा राखेका चर्च ब्वाईजका खेलाडी भुवन बस्नेतले ३८ औं मिनेटमा थप एक गोल गरी तीन शुन्यले अग्रता बनाएको थियो । प्रतियोगिताको दोश्रो हाफमा चर्च ब्वाईजका सुनिल खड्का र जङ्बु शेर्पाले एक एक गोल गरेका थिए । धनकुटाका तर्फबाट वर्तमान राईले २ गोल र दिपेन तामाङले एक गरि तीन गोल गरेका थिए । चर्चब्वाईजको डि बक्स भित्र वर्तमान राईलाई चर्च ब्वाईजका खेलाडीले लडाएपछि पेनाल्टी रेफ्रिले पेनाल्टी दिएको थियो । धनकुटाका खेलाडीले वर्तमानले हानेको बल चर्च ब्वाईजका गोल रक्षक विवस चौधरीले बचाउ गरेका थिए । गोल रक्षक चौधरीले पनि सहज रुपमा बचाउ गर्न नसके पछि धनकुटाको दिपेन तामाङले गोल गरेका हुन् । प्रतियोगिताको म्यान अफ दि म्याच चर्चका जंगु शेर्पा घोषित भएका छन् । उनलाई नगद पाँचहजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको उद्घाटन एन्फाका उपाध्यक्ष तथा फुटवलका राष्ट्रिय टिमका पूर्व क्यापटेन उपेन्द्रमान सिंहले उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एन्फाका सहसचिव वसन्त अर्याल रहेका थिए । कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर ढाका पराजुली लगायत अतिथिहरु रहेका थिए । कार्यक्रम डागीहाट युथ क्लवका अध्यक्ष विक्रम राईको सभापतित्वमा सम्पन्न भएको थियो । आईतवारको खेल आयोजक डागीहाट युथ क्लव र विर्तामोड फुटबल क्वल बीच हुने भएको छ । प्रतियोगिताको विजेतालाई २ लाख २२ हजार र उपविजेतालाई १ लाख २ हजार पुरस्कार घोषणा गरिएको छ ।