पानवारी । भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनको लागी नगरपालिकाका नेतृत्वहरुको दुई दिने प्रशिक्षण कार्यशाला धरानमा सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन धरानमा सम्पन्न भएको कार्यशालामा प्रदेश नं. १, २ र ३ का धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका, फिदिम नगरपालिका, धनकुटा नगरपालिका, दमक नगरपालिका, मिथिला नगरपालिका, बर्दिवास नगरपालिका, मन्थली नगरपालिका र कमल गाउँपालिकाकाका प्रमुख, उप्रमुख, प्रशासकिय अधिकृत, प्राविधिक तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का अधिकारीहरुको उपस्थिति रहेको थियो ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा भवन निर्माण संहितको प्रभावकारी कार्यान्वयन, नक्सापास प्रक्रियालाई सरल र व्यवस्थित बनाउने उपाय, सहरी विकास रणनीति, बस्ती विकास तथा भवन ऐनको कार्यान्वयनका विषयमा छलफल गरिएको एनसेटका सूचना अधिकृत महानन्द तिमल्सिनाले जानकारी दिएका छन् । कार्यशालाले नगर तथा गाउँपालिकाकाहरुमा नयाँ भवनलाई भूकम्प प्रतिरोधी बनाउन, स्थानीय सरकारहरुको बुझाइमा एकरुपता ल्याउन र स्थानीय तहका योजनामा विपद् जोखिम न्यूनिकरणका गतिविधिहरुलाई समावेश गर्न सहयोग पुग्ने एनसेटका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले बताए ।

समापन कार्यक्रममा प्रमुख अतिथि एक नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भूकम्प प्रतिरोधी स्कुल तथा सार्वजनिक भवनहरु कमै मात्र भएकोले अब बन्ने सबै भौतिक संरचना भवन निर्माण संहिता भित्र रहेर बन्ने बताए । उनले विपद् आउनुपूर्व सावधानी अपनाउने नगरेको कारण विपद्मा ठूलो धनजनको क्षति भएको भन्दै अब विपद् पूर्व सबै सुरक्षा अपनाउनुपर्नेमा जोड दिए । उनले प्रदेशका एक सय ३७ वटै स्थानीय तहमा यसै वर्ष भित्र ८ सय प्राविधिक जनशक्ति तयार गर्ने योजना रहेको समेत बताएका थिए ।

समापन कार्यक्रमकी अध्यक्ष धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले धरानले यस अघि नै भूकम्प प्रतिरोधी संरचना निर्माणमा लागि सकेको भन्दै कार्यशालाले थप उर्जा प्रदान गरेको बताइन् ।