
बेलबारी । मोरङको लक्ष्मीमार्गमा जारी दोश्रो अन्र्तराष्ट्रिय आमन्त्रण वुद्ध एयर डाँगी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डागीहाट युथ क्लवलाई ट्राईब्रेकरमा पराजित गर्दै झापाको विर्तामोड युनाइटेड सेमीफाईनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा विर्तामोडले आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । डिफेन्डिङ च्याम्पीयन विर्तामोड र आयोजक बीच निकै रोमाञ्चक खेल भएको थियो । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाईब्रेकर गर्नु परेको थियो । टाईब्रेकरमा आयोजक डागीहाटलाई स्तब्ध बनाउँदै विर्तामोड विजयी बन्यो । विर्तामोडका पृथ्वी चौधरी, रोशन थाम्स्वाङ, नानी लिम्बू, संजय धिमाल र दिलेन लोक्तामले गोल गर्दा विर्तामोडको जित पक्का बनेको हो । आयोजकका तर्फबाट अरुण लिम्बू, उमेश कार्की र विक्रम लिम्बूको प्रहार गोलमा परिणत भयो । सुरेन्द्र खवासको प्रहारलाई विर्तामोडका गोलरक्षकले विफल पारिदिएका थिए । पहिलो गोल्डकपमा विर्तामोड संगै पराजय भोगेको आयोजक टिमले बदरला लिन सकेन । विर्तामोडले पनि खेल अवधिमा गोल गर्न नसक्दा टाईब्रेकरको सहायता लिनु परयो । आइतबारको खेलको म्यान अफ दी म्याच विर्तामोडका आशिष चापागाई घोषित भए । सोमबारको खेलमा भारतको खर्साङ युनाइटेड क्लब र मोरङ फुटबल एकेडेमी मंगलबारेबीच प्रतिष्पर्धा हुने छ ।