बेलबारी । मोरङको लक्ष्मीमार्गमा जारी दोश्रो अन्तरराष्ट्रिय आमन्त्रण बुद्ध एयर डागीहाट गोल्डकपमा राष्ट्रिय टीम यु १८ लाई ट्राईब्रेकरमा पराजित गर्दै टुर्बोग रेडहर्ष इलाम सेमीफाईनमा प्रवेश गरेको छ । लक्ष्मीमार्ग स्थित खेल मैदानमा मंगलवार भएको खेलमा इलामले ५–४ को गोल अन्तरले यु १८ लाई पराजित गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि ट्राईब्रेकर भएको थियो । ट्राईबे्रकरमा इलामको तर्फबाट टिम क्याप्टेन प्रदिप विष्ट , पिकेश लिम्बू , हिसव थपलिया,रोमन भुजेल र हिकमेन लिम्बूले गोल गरेका थिए । त्यसैगरी यु १८का तर्फबाट मनिष थापा, नितिन थापा, नविन गुरुङ र सन्जित राईले मात्र गोल गरेका थिए । ईलामका गोल किपर मनोज प्रधानले यु १८ का जय गुरुङ र विकाश खवासले प्रहार गरेको बललाई बचाउ गरेर ईलामलाई विजयी बनाएका थिए । त्यसैगरी यु १८ का गोल किपर विष्णुकुमार केसीले इलामका दर्शन गुरुङले प्रहार गरेको बल मात्र बचाउ गरेका थिए । प्रतियोगिताको म्यान अफ दि म्याच इलामका गोल रक्षक मनोज प्रधान घोषित भएका थिए । बुधवार हुने पहिलो सेमीफाईनल खेल चर्च ब्वाईज क्लव काठमाण्डौ र मोरङ फुटबल एकेडेमी बीच हुने भएको छ ।