विराटनगर । भारतको आग्रामा असोज ४ गतेदेखि हुने ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोली भारत जाने भएका छन् । छनौटमा परेका नेपालबाट २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोली असोज ४ गते भारत प्रस्थान गर्ने भएका हुन् ।

नेपालले पहिलो खेल असोज ७ गते थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट नेपाली खेलाडीको टिम तयार पारिएको हो । पहिलो पटक नेपाली फुटबल टोलीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने भएपछि एक महिनादेखि टोली बन्द प्रशिक्षणमा छ । १० दिन सम्म चल्ने प्रतियोगिताका लागि नेपालका तर्फबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी चयन गरिएको छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विराटनगरलाई बन्द प्रशिक्षण गराउँदै आएको छ । मुख्य प्रशिक्षक रहेका श्रेष्ठ सन् १९८९ मा १६ वर्ष मुनीको राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका पूर्व खेलाडी पनि हुन् ।

एसियन च्याम्पियनसिप खेल्न जाने खेलाडीसहित प्रशिक्षकहरुलाई आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि विदाई गरिएको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले खेलाडी टोलीको विदाई गरे । अविर, खादा तथा खेलकुद सामग्री सहित खेलाडी टोलीलाई विदाई गरिएको एन्फाका केन्द्रीय सदस्य तथा टोली व्यवस्थापक रुपेश अधिकारीले बताए ।

विदाई कार्यक्रममा मुख्य मन्त्री राईले नेपाली फुटबलले नयाँ उचाई र नयाँ गति लिने विश्वास व्यक्त गरे । विजयको अग्रिम शुभकामना दिंदै मुख्यमन्त्री राईले खेलाडीलाई भने, ‘प्रथम, द्धितिय र तृतिय जे भए पनि विजय प्राप्त गरेपछि प्रदेश सरकारले सम्मान गर्ने छ ।’

प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले खेलका माध्यमबाट अनुसाशित, सभ्य र स्वस्थ्य समाज निर्माण गर्न सकिने बताए । उनले एसियन च्याम्पियनसिपलाई खेलाडीले क्षमता र कौशल प्रदर्शन गर्दै उपाधि जित्ने मौकाका रुपमा सदुपयोग गर्नु पर्ने बताए । सक्षम र शक्तिशाली भएर प्रतिष्पर्धामा अगाडि बढ्न चाहने खेलाडीलाई यो प्रतियोगिता ठूलो अवसर भएको उनको भनाइ छ ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले फुटबल राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले खेलाडीले पनि त्यही हिसावको प्रदर्शन गर्नु पर्नेमा जोड दिए । प्रदेशमा खेलकुदलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले सबै प्रतियोगिताको काठमाडौंमा भइरहने बन्द प्रशिक्षणलाई ‘आइसब्रेक’ गर्दै एसियन च्याम्पियनसिपको बन्द प्रशिक्षण विराटनगरमा गराएर नेपाली फुटबल इतिहास भत्काइएको दावी गरे ।

एन्फाका केन्द्रीय सदस्य तथा नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले बन्द प्रशिक्षणको व्यवस्थापन र खेलाडीको अभ्यासमा कुनै कमि आउन नदिएको बताए । राष्ट्रिय टिमको नेत्रृत्वदायी भूमिकामा रहेका हेन्जन त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । धनुषाका हेन्जनले यस अघि १६ र १९ वर्ष मुनीको अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

कप्तान हेन्जन भने नेपाली टिमले विदेशी भूमिमा उत्कृष्ट खेल देखाउने बताए । नेपाली टिममा रहेका २० जना मध्ये १३ जनाले यस अघि अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । सात जना नायाँ अनुहार छन् ।

नेपाली टिमका तर्फबाट गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रन्दिप पौड्याल र सजित राई डिफेन्सको भूमिकामा रहने छन् । नितिन थापा, मनिष थापा, जय गुरुङ, सेतेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन् । स्ट्राइकरमा कप्तान दिनेश हेन्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् ।