पाँचथर । संघीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष बीर्खबहादुर वाइबा सहित चार जना जिल्ला स्तरीय नेता चार नेता नेपाल कम्युनिष्ट पार्टिमा प्रवेश गरेका छन् ।

उपाध्यक्ष वाइबा सहित सचिव सन्तोष सेलिङ, जिल्ला सदस्य जयबिक्रम चेम्जोङ र गजेन्द्र आङदेम्बे संघीय समाजवादी फोरम परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार अबेर एक कार्यक्रमकाबीच नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गराउदै आङबोले नेकपाको एकता प्रक्रियामा निकै ठूलो षडयन्त्र रचिएको तर त्यसलाई चिरेर अन्ततः पार्टी एकिकरण भएको उल्लेख गर्दै त्यसले जनतामा खुसीको तरङ्ग सञ्चार भएको बताए । नेकपा प्रतिको आकर्षण बढ्दो रहेको भन्दै उनले यसले बिषाल कम्युनिष्ट पार्टी बनाउने अभियानले सार्थकता पाउदै गएको बताए ।

कार्यक्रममा बोल्दै पार्टी प्रवेशीहरुको तर्फबाट वाइबाले संघीय समाजवादी फोरम नेपाल उराठलाग्दो पार्टी भएको टिप्पणी गरे । बिधि र बिधानभन्दा बाहिरबाट पार्टी सञ्चालन हुने गरेको बताउँदै मुलुकको वर्गीय चरित्र अनुसार समस्या समाधानमा पार्टीको नीति तथा कार्यक्रम नै नरहेकाले संघीय समाजवादी फोरम परित्याग गरेको वाइबाले बताए ।