पानवारी । धरान उपमहानगरपालिकाले आइतबार बजार अनुगमन गरेको छ । विशेष गरी असोज १ गते विश्वकर्मा पूजाको दिन सर्वसाधारणले मिठाइ बढी खाने भएकोले गुणस्तरीय मिठाइ बजारमा पुगोस् भन्ने उदेश्यले बजार अनुगमन गरिएको धरान उपमहागरपालिकाका बजार अनुगमन अधिकृत दिवस अधिकारीले बताए । धरान उपमहानगरपालिकाले यस अघि अघिल्लो बर्षको वडादशै अघि २ दिन बजारका मासु पसलमा अनुगमन गरेको थियो । त्यसपछि नियमित बजार अनुगमन गर्ने भनिए पनि धरान उपमहानगरपालिकाले अहिलेसम्म बजार अनुगमन गर्न सकेको थिएन । बजार अनुगमन नहुँदा उपभोक्ताहरु ठगिनुको साथै बजारमा व्यापारीको मनोपोली रहेको उपभोक्ताले गुनासो गर्दै आएका छन् । आइतबार भएको अनुगमन टोलीमा धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत दिवस अधिकारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय धरान, इलाका प्रशासन कार्यलय धरान, उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघ धरान, केन्द्रीय प्रविधि क्याम्पस धरान, पत्रकार महासंघ सुनसरी लगायतका प्रतिनिधी सम्मिलित टोलीले बजार अनुगमन गरेको हो । यस अघिका वर्षहरुमा मुख्य सडक किनारमा टेण्ट टागेर खोलिने मिठाइ पसल तथा कतिपय स्थायी रुपमा रहेका मिठाइ पसलले विश्वकर्मा पूजाको दिन धेरै मिठाई तथा बुनिया बेच्न कमसल मिठाइ बेच्ने गरेको गुनासो सुनिदै आएको थियो । अनुगमन टोलीले धरान–१ मा रहेको रिमा टेण्ट हाउसका रञ्जित शाह र धरान–८ साम्पाङ चोक नजिकबाट अस्थायी टेण्ट लगाएर मिठाइ बेच्न बसेका रवि शाहलाई गुणस्तरहिन मिठाइ बनाएको भन्दै रु. एक हजार जरिवाना समेत गराएको छ । बजार अनुगमन अधिकृत अधिकारीले भने –‘अब धरान उपमहानगरपालिकाले कम्तिमा एक हप्तामा एक पटक बजार अनुगमन गर्छ । जनशक्ति अभावदेखि कानुनको अभावसम्मले गर्दा नियमित बजार अनुगमन हुनसकेन अब चाडबाडमा मात्र होइन धरानको बजार नियमित अनुगमन हुन्छ ।’ उनका अनुसार अब व्यापारी व्यवसायीलाई सजाय दिने जरिवाना गर्ने किसिमको अनुगमन भन्दा पनि बजारमा थिति बसाउने गरी बजार अनुगमन हुनेछ । आइतबार भएको अनुगमनको क्रममा रञ्जीत शाहले अखाद्य रङ प्रयोग गरेर मिठाइ बनाएको फेला पारेको थियो भने रवि शाहले म्याद गुज्रिएको पिठोबाट मिठाइ बनाएको फेला पारेको थियो । अनुगमन गर्नु अघि धरान उपमहानगरपालिकाले सडक किनारमा टेण्ट राखेर खुल्ला रुपमा मिठाइ नबेच्न माइकिङ गरी आग्रह गरेको थियो ।
पुनः प्रयोग हुने तेल मानव स्वास्थ्यका लागी घातक अनुगमनमा पुगेकी केन्द्रीय प्रविधि क्याम्पस धरानकी उपप्राध्यापक बविता अधिकारी दाहालले बजार अनुगमनमा क्रममा धरानका मिठाइ पसलहरुमा अखाद्य रङ प्रयोग हुने गरेको, पकाउने भाडाहरु खिया लाग्ने किसिमको भएको र मूल्य समेत फरक फरक रहेको भेटिएको बताइन् । उनले भनिन् –‘मिठाइ पसलहरुमा प्रायः गरी फ्राइ गर्ने तेल पुनः प्रयोग गरेको पाइयो, जस्तो समोसा बनाउने, जेरी बनाउने, पुरी फ्राइ गर्ने तेल आज पनि त्यही र भोली पनि त्यसमा नै तेल थपेर प्रयोग गरेको पाइयो ।’ त्यसरी तेल पुनः प्रयोग गरी बनाइएको खानेकुराबाट मानव स्वास्थ्यमा दिर्घकालिन असर पर्ने उनले बताइन् । तेललाई त्यसरी पुनः प्रयोग गरेर त्यसमा बनाइएको परिकार खादा मानिसमा बाझोपन हुने, मुटुको रोग लाग्ने हुन्छ । त्यस्ता खानेकुरा नियमित खाने मानिसलाई मुटुको रोग चाडै लाग्ने समेत उनले बताइन् ।