हामी आजबाट नयाँ अध्यायमा फड्को मार्दैछौं । २३ वर्षे अध्याय पूरा गरेर २४ वर्षे अध्यायको थालनी गर्दैछौं । पुरानो अतीतलाई सम्झदै आगतलाई अझ बलियो बनाउने अवसर प्राप्त हुनु सुखद अवसर हो । सम्पूर्ण पाठकवृन्द, विज्ञापनदाता, सहकर्मी र शुभचिन्तकहरुसँग सहकार्य गर्दै यहाँसम्म आइपुग्ने अवसर चानचुने कुरा होइन । यतिबेला देशले एउटा अध्याय पूरा गरी आर्थिक, समृद्धि तथा विकासको अध्यायको थालनी गरिरहेको अवस्थामा हामीले पनि हाम्रा सामग्रीलाई त्यसतर्फ मुखरित गर्ने एजेण्डा बनाउने बेला आइसकेको छ । २३ वसन्त पूरा गर्ने क्रममा विभिन्न एजेण्डाहरु स्थापित गर्दै , साकार बनाउँदै आजको अवस्थाबाट फेरि मुलुकको आर्थिक समृद्धिको एजेण्डालाई आधारभूत मार्गदर्शन मानी हामी सम्पूर्णले त्यो गन्तव्यतर्फ पाइला अगाडि बढाउनु जरुरी भएको छ । हामी आर्थिक समृद्धिको एजेण्डालाई स्थापित गरेर हिंडने प्रयास गरिरहेकै बेला अहिले राज्य प्रेस स्वतन्त्रतामाथि निर्मम तरिकाले प्रस्तुत भएको छ । यस्तो अवस्थामा प्रेस स्वतन्त्रताको रक्षार्थ हाम्रो कलम कदापि डगमगिन दिने छैनौ । राज्य तथा राज्यका निकायहरु दुःख दिने वाहानामा व्यक्ति वा समूहको स्वार्थमा पत्रकारहरुमाथि साइवर क्राइमका नाममा दुःख दिने कुत्सित नियत राखिदै छ । यस्ता निन्दनीय कार्यको जति भत्र्सना गरे पनि कमै हुन्छ । प्रेस स्वतन्त्रतामाथि लगाइएको अंकुशको कुनै पनि हालतमा लोकतन्त्रको मूल्य मान्यताअनुरुप छैन । अचम्म लाग्न थालिरहेको छ , कसलाई नचाहिएको हो पूर्ण प्रेस स्वतन्त्रता श्र सरकारमा आसिन राजनीतिक पार्टीलाई या सरकारलाई वा सरकारको कुनै मन्त्रालयलाई वा कानूनको मस्यौदा गर्ने कुनै मस्यौदाकारलाई वा सार्वभौम संसदको कुनै सदस्यलाई श्र यो लोकतन्त्रको मूल्यमान्यता विपरीत छ । लोकतान्त्रिक शासन व्यवस्थाको असली पहरेदारको रुपमा रहेको प्रेसमाथि अंकुश लगाइनु आफैमा निन्दनीय छ । राज्यले प्रेससम्बन्धी ल्याएको संहितालाई खारेज गर्दै नयाँ लोकतान्त्रिक पद्दति र मूल्यमान्यतामा आधारित रहेर संहिता ल्याइनु जरुरी हुन्छ । लोकतान्त्रिक व्यवस्था तब मात्रै सुदृढ वा सफल हुन्छ जहाँ नागरिक पूर्ण रुपमा सूसुचित हुन्छन् । यसका लागि हाम्रो खबरदारी सदैव रहने छ । देश संघीयतामा प्रवेश गरेसँगै हाम्रो पनि जिम्मेवारी बढेको छ । प्रदेशको पहिलो रंगीन पत्रिका भएका हिसाबले पनि जनतालाई सुसूचित गर्दै तथ्यपरक पत्रिकारिताका माध्यमबाट सही सूचना दिने जिम्मेवारी पनि हाम्रै काँधमा छ । सूचना र सञ्चारका आयामले नयाँ उचाइ थपेको सन्दर्भमा पक्कै पनि हामीसामू चुनौती र अवसरहरु उस्तै गरी उभिएका छन् । नागरिकको सञ्चारको पहुँचका कारणले पनि विविधता थपेको छ । पाठक, तथा स्रोतामा विविध खाले सामग्रीको अपेक्षा हुनु स्वाभाविक बन्दै गएको छ । प्रविधिले फड्को मारेको सन्दर्भमा हामीले पनि पाठकलाई त्यहीअनुरुपको स्वाद पस्किने गरी ब्लाष्टखबर डटकमको शुरुवात गरेका छौं । प्रदेश १ लाई समृद्ध बनाउन भ्रष्टाचार तथा अपराधरहित समाजको परिकल्पनामा हामी सदैव जुटिरहेका छौं । जुट्ने छौं । हामी स्थानीय, प्रदेश र संघीय सरकार अनि जनतासँग सदैव सँगै हुनेछौ । हामी सबै सरकारको सहयोगी साथसाथै पहरेदारीको पनि भूमिका निर्वाह गरिरहेकै हुनेछौं । त्यसमा तपाईंहरुको साथ सहयोगको आवश्यकता छ । जसरी यो अवस्थासम्म आइपुग्न सदैव तपाईंहरुको सहयोग थियो । त्यसमा थप सहयोगको अपेक्षा राखेका छौं । विशेष गरी हाम्रा पाठक, शुभेच्छुक, विज्ञापन दाता, लेखक, सहकर्मीप्रति आभारी छौं । आज हामी यो स्थानमा आइपुग्नुमा तपाईंहरुको योगदान अतुलनीय छ । यो सहयोग र सहयात्रा अनन्तकालसम्म रहोस, यो अनुरोध पनि गर्न चाहान्छौं ।