वराहक्षेत्र/ सुनसरी मोरङ सिंचाइ योजनाले ज्यालादारी कर्मचारीको सेवा सुविधा बढाउन गरेको सम्झौता कार्यान्वयन नगरेपछि कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।

केही दिनदेखि जारी आन्दोलनलाई दबाउन सुनसरी मोरङ सिचाइ योजनाले कर्मचारी सरुवा गर्ने जुक्ति निकालेको छ । ज्यालादारी कर्मचारीसँग भएको सहमति कार्यान्वयन नगरेको विरोधमा विरोधमा गरिएको आन्दोलन भाँड्न आयोजना लागि परेको तथ्य खुलेको छ ।

दशक अघिदेखि कर्मचारीहरूले सेवा सुविधा बढाउन माग गर्दै आए पनि मागलाई बेवास्ता गर्दै आएको योजनाले अहिले चतरा र विराटनगरका ज्यालादारी कर्मचारीलाई सरुवा गर्ने, तलब रोक्का गर्ने, हाजिरी काट्ने र गालीगलौजसँगै दुव्र्यवहार गरेको सुनसरी मोरङ सिंचाइ योजनाका नियमित ज्यालादारी कर्मचारी मूल समन्वय समितिका अध्यक्ष दुर्गा राईले बताए ।

उनले चतरा इकाईका दुर्गा राई, माधव थापा र मनिषकुमार यादव साथै विराटनगरका रविन कार्कीलाई सरुवा गर्न लागेको बताए । ‘मेरो नियुक्ति चतरा हो तर अहिले योजनाले मलाई मौखिक रूपमा विराटनगर आउनु भनेको छ, सानासाना बालबच्चा भएको मान्छे म कसरी जानु ?’ कर्मचारी मनिष यादवले गुनासो गरे ।

उता विराटनगर डिभिजन इञ्जिनियर सुपेन्द्र खत्रीले कर्मचारी रविन कार्की र चतराका लालबहादुर विष्टलाई दुव्र्यवहार गर्दै गालीगलौज गरेको कर्मचारीले बताएका छन् ।

अध्यक्ष राईले २०७४ साल जेष्ठ ११ गते सिंचाइ विभागले कर्मचारीहरूस“ग गरेको ५ बुँदे सहमति कार्यान्वयन नगरेको र सम्झौताविपरीत करारका कर्मचारीलाई ३ महिनासम्म हाजिर नगराई तलब खुवाउने, स्थायी र करारका कर्मचारी कार्यलयमा हाजिर नहुँदा पनि हाजिरी मिलाइदिने र आफूखुसी करारमा नया“ कर्मचारी रमेश अधिकारी, अशोक श्रेष्ठ र राजेन्द्र रजकलाई नियुक्त गर्ने कार्य गरेको बताए ।

‘हामीले २०६३ सालदेखि आफूहरूले शान्तिपूर्ण रूपमा सेवासुविधा बढाउन माग गर्दै आएका छौँ, माग सुनवाई नभएपछि २०६९ देखि योजनाको चतराको ओल्ड इनटेकस्थित मूल नहर बन्द गरेर चरणवद्ध आन्दोलन गर्दै आएका छौँ ।’ अध्यक्ष राईले भने ।

आन्दोलनले गर्दा किसानले पानी नपाएको आवाज उठाएपछि तत्कालीन देउवा सरकारको पालामा २०७४ जेठ ११ गते वासुदेव लोहनीको संयोजकत्वमा काठमाडौंबाट आएको वार्ता टोलीले सिंचाइ योजना चतरास्थित डिभिजनल कार्यालयमा पाँच बुँदे लिखित सम्झौता गरेको थियो ।

सहमतिअनुसार ५८ वर्ष उमेर नाघेका कर्मचारीलाई कामबाट पूर्ण अवकाश दिँदा उसले काम गरेको प्रत्येक वर्षको २ महिनाको दरले तलब दिइने, नियमित सरह वार्षिक रूपमा पोशाक भत्ता, बिदा तथा एक महिनाको चाडपर्व खर्च दिने र उनीहरूको जीवन बीमा गरिने सहमति भएको थियो । तर अहिलेसम्म सहमतिको कुनै पनि बुँदा कार्यान्वयन भएको छैन ।

कर्मचारीहले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रममा कार्तिक ११ गते देखि २० गतेसम्म कार्य स्थानमा कालो पट्टी बाँधेर काम गर्ने, १८ गते विराटनगरस्थित मुख्य कार्यालयको घेराउ गर्ने र कार्तिक २५ गतेबाट अनिश्चतकालीन सिंचाइ योजनाको कार्यालय, गेट, बत्ती, यातायात, चतरास्थित मूल नहर बन्द गरिने अध्यक्ष राईले बताए ।

यस सम्बन्धमा प्रतिक्रिया लिन आयोजना प्रमुख हरेराम श्रेष्ठलाई ९८५१०४७३८६ र डिभिजन इञ्जिनियर सुपेन्द्र खत्रीलाई ९८४२०७३४३९ मा पटकपटक फोन गर्दा उनीहरूको फोन उठेन । बुधवार सुमोसियो विराटनगरका इञ्जिनियरत्रय विजय गुप्ता, रिञ्ची गुरुङ र पूष्पमणी गौतम आन्दोलन बारेमा जानकारी लिन चतरा आएको कर्मचारीले बताए । यस सम्बन्धमा बुझ्दा उनीहरू चतरा घुम्नमात्र आएको जानकारी गराए ।