भक्तपुर / संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक संचार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताएका छन ।
आज नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारण सभाको उद्घाटन गर्दै उनले श्रमजिवी पत्रकारहरु एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताए ।
उनले भने–“न्यूनतम पारिश्रमिक लागू भयो भने संचारमन्त्रीलाई कसरी सेकाउनु पर्छ भनेर बैठक बस्दैछ रे, मन्त्री बदलिएलान्, तर नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिदैन, जो सुकै मन्त्री भएपनि यो सरकारले श्रमजिवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छ ।”
पत्रकारले आफ्ना पेशागत कुरा गर्नुपर्नेमा आन्दोलनकारीको माग पुरा गर भन्नु गैरजिम्मेवारी हो भन्दै उहाँले पत्रकारले राजनीति गर्ने हो कि, समाचार लेख्ने हो ? भने सरकारले सबै क्षेत्रमा काम गरेपनि सरकारप्रति पूर्वाग्राही राखेर समाचार आउने गरेको टिप्पणी गर्दै उनले नेपालका मिडिया मालिकको चाहना अनुसार चल्ने गरेको बताए ।
मिडियाले पत्रकारिता नगरी सत्ता पक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेको टिप्पणी गर्दै उनले सरकार विरुद्ध षडयन्त्रको अभ्यास धेरै दिन नटिक्ने विचार व्यक्त गरे । डा. गोविन्द केसीले आफ्नो माग बिरुद्ध आफै अनशन बसेको टिप्पणी गर्दै उनले नेपालको मिडिया केसीले देखाएको बालहटको पछि लागेकाे अारेाप लगाए ।
केसीको माग पुरा गर भनेर एउटा पत्रकारले भन्नु गलत भएको बताउदै मन्त्री बाँस्कोटाले भने –“केसीले सोचेको कुरा उहाँ धर्तीमा एक्लै भएको भए पनि पुरा गर्न सक्नु हुन्थेन, उहाँ आफै प्रधानमन्त्री भएपनि सतप्रतिशत माग पुरा गराउन सक्नुहुन्न ।”
महासंघले प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गर्दै मन्त्री बाँस्कोटाले आफू सरकारमा हुँदा केसीको माग पुरा नगर्ने अहिले माग पुरा गर्नुपर्छ भन्ने प्रबृत्ति गलत भएको बताए ।
कार्यक्रममा प्रतिनिधीसभा सांसद महेश बस्नेतले ठूला मिडिया सरकार बिरुद्ध अपवाह फैलाएर बदनाम गराउन खोजेको आरोप लगाए ।
पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिल र सूचना बिभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताए । उनले जिल्ला जिल्लाबाट केन्द्रमा धाउँनु पर्ने अबस्थाको अब अन्त्य हुनुपर्नेमा जोड दिदै संघीय ढाचा अनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनुपर्नेमा जोड दिए ।