इनरुवा/ सुनसरीको कोशी गाउँपालिकामा गाई, भैंसी र राष्ट्रिय कुस्ती प्रतियोगितासँगसँगै आयोजना गर्न लागिएको छ । गाउँपालिकाको कार्यालयले बुधबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराएको हो ।
गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार बीपी स्मृति कृषि मेलाको अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । इनरुवा नगरपालिकाको कार्यालयसँगको समन्वय र सहकार्यमा कोशी गाउँपालिकाले आयोजना गर्न लागेको प्रतियोगिता माघ ११ देखि १४ गतेसम्म चल्नेछ ।
जसअन्र्तगत माघ ११ गते भैंसी सुन्दरी प्रतियोगिता आयोजना गरिँदै छ । १२ गते गाई प्रतियोगिता आयोजना गरिने बताएको कोशी गाउँपालिकाले माघ १३ गते कोशी बगरमा राष्ट्रिय कुस्ती प्रतियोगिता गर्न लागिएको अध्यक्ष अन्सारीले बताए ।
भैंसी प्रतियोगितामा उत्कृष्ट ठहरिने धनीलाई भैसी नै पुरस्कार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रथम पुरस्कार वापत् प्रदान गरिने भैंसी भने इनरुवा नगरपालिकाले उपलब्ध गराउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले घोषणा गरे ।

गाई प्र्रतियोगितासहित अन्य पुरस्कारको व्यवस्था भने कोशी गाउँपालिका र इनरुवा नगरपालिकाले संयुक्त रूपमा बन्दोबस्त मिलाइने बताइएको छ । त्यसैगरी राष्ट्रिय कुस्ती प्रतियोगितामा ७ वटै प्रदेशसहित तीन विभागीय र आयोजक टिमलाई सहभागी गराउने गरी तयारी थालिएको जिल्ला खेलकुद विकास समिति सुनसरीका सदस्य वसन्त सुवेदीले जानकारी दिए ।
प्रतियोगिता ओलम्पिक नियमका आधारमा खेलाइने सुवेदीले बताए । विभिन्न वजन समूहमा महिला र पुरुष गरी छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने खेलको विजेतालाई प्रदान गरिने पुरस्कार राशि भने समितिले तय गरी निर्धारण गरिने बताइएको छ ।
यसैबीच इनरुवा र कोशीले मितेरी साइनो जोडी विकासका कार्यहरूमा साझेदारी गर्ने समेत घोषणा गरेका छन् । उक्त विषयमा उपयुक्त खाका तयार गरी सार्वजनिक गरिने बताइएको छ ।