इनरुवा/ सफ्टवेयर खराबी भएको भन्दै तीन दिनदेखि अनलाइन सेवा प्रभावित हुँदा जिल्ला मालपोत कार्यालय सुनसरीमा सेवाग्राहीले दैनिक सास्ती खेप्ने गरेका छन् । कामकाजका लागि कार्यालय पुगेका सेवाग्राही अनलाइन सेवा प्रभावित भएको भन्दै जानकारी गराउने गरेका छन् । कार्यालयले सूचना टाँस गरी सेवा प्रभावित हुन पुगेको जनाएको छ ।
अनलाइन प्रणालीमा जग्गा समबन्धी कामकाज थालेको सुनसरी मालपोतको सिस्टम प्रणालीमा खराबी देखिएको भन्दै दुःख दिने गरेको धरानका सेवाग्राही अरुण प्रधानले बताए । ‘पहिलो दिन आए, अनलाइनले काम गरेको छैन भन्यो । आज आउँदा पनि उस्तै छ ।’ उनले फोनसम्पर्कमा भने ।
भूमि सुधार तथा मातपोत कार्यालय इनरुवा सुनसरीमा तीन दिन देखि काम ठप्प झैं बन्न पुग्दा सेवाकालागि कार्यालय पुगेका सर्वसाधारणमा आक्रोस बढ्न पुगेको हो । जग्गा पास लगायतका कामकालागि मालपोत कार्यालय पुगेका सेवाग्राही तीन दिन देखि फाइल बोकेर कार्यालय परिषरमा भौतारी रहनु परेको बताउँछन् ।
इनरुवा मालपोतमा दैनिक रुपमा २ सयको हाराहारीमा जग्गा रजिष्ट्रेसन हुने गरेको छ । कार्यालयले अनलाइन सिस्टममा खराबीको कारण देखाउँदै काम गर्न समस्या भएको बताइ रहँदा सेवाग्राहीले भने सेवा सुचारु गर्न ढिलासुस्ती भएको भन्दै तीन दिन सम्म सेवा सुचारु हुन नसक्नुलाई मिलेमतोको संज्ञा दिएका छन् ।
सिस्टममा ढिलाई भएको बताएपनि रकम बुझाउनेको काम कार्यालयका कर्मचारीले सम्पादन गरिरहेको सेवाग्राहीहरुको आरोप छ ।
सेवाग्राहीको आक्रोसलाई सामान्य मानेको मालपोत इनरुवाले रकमको लेनदेनको आरोपमा भने सत्यता नभई इन्ट्रानेटको खराबीले सेवा अवरुद्ध हुन पुगेको स्पष्ट पारेको छ । सफ्टवेयरमा आएको खराबी विभागीय समस्या भएकाले जानकारी गराइसकिएको कार्यालय प्रमुख सूर्यबहादुर थापाले बताए ।
अनलाइन प्रणाली मार्फत जग्गाको रजिष्ट्रेसन गर्दा १६ पन्नाको अनलाइन फारम दर्ता गरिनुपर्ने हुन्छ । यसअघि हातले लेख्ने लिखत भने २ पन्नाको मात्र हुने गरेको थियो । सिस्टमनै नचलेपछि कामकाज बन्द भएको सूचना जारी गर्नु पर्ने अवस्था आएको कर्मचारीहरुको भनाई रहेको छ ।
अनलाइन सिस्टममा आएको खराबीका कारण सेवा प्रवाहमा समस्या निम्तेको बताउने मालपोत कार्यालय इनरुवाले कति दिन भित्रमा समस्या समाधान हुने हो भन्ने बारेको यकिन जानकारी भने दिएको छैन् ।