जिरोपोइन्ट / सातौं नेवा च्यारेटी रनको तयारी पूरा भएको आयोजक धरान रन समूहले जनाएको छ ।
यस वर्ष ‘शिक्षाका निम्ति च्यारेटी रन’ नारासहित नेवा च्यारिटी १० के रनको तयारी पूरा भएको बिहीबार जनाइएको छ । विगत वर्षहरूमा ८ के रन गराउँदै आएको थियो । अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउन यस वर्षदेखि १० के रन गराउन लागिएको रन समूहका अध्यक्ष रमु राईले बताए ।
शनिबार हुने प्रतियोगिता सहभागी सङ्ख्याको आधारमा देशभरकै ठूलो रन हो । चार वटा फरक–फरक उमेर समूहबीच भिडन्त गर्ने छन् । १२ वर्ष मुनी, १६ वर्ष मुनी, खुल्ला र ४० वर्षमाथिका बीचमा प्रतिस्पर्धा गराइने छ । खुल्लामा भने सबै उमेर समूहका सहभागी भिडन्त गर्न पाउने छन् । उमेर समूहका विजेताले नगद ७ हजार, दोस्रोले ५ र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
खुल्लातर्फ महिला र पुरुषले जनही ४० हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ, तेस्रोले २० हजार रुपैयाँ प्रदान गर्ने छ । स्थानीय धावकधाविकामध्ये महिला र पुरुषतर्फ विजेतालाई आर्कषक पुरस्कार प्रदान गरिने बिहीबारको पत्रकार सम्मेलनमा जनाइयो । हरेक साताको शनिबार धरान रनमा सहभागी हुनेमध्ये उदयिमान चार जना धावकधाविकालाई समेत पुरस्कार प्रदान गरिने भएको छ । यस वर्षबाट १० के रन पूरा गर्ने खुल्लातर्फका २ सय महिला र पुरुषलाई पनि मेडल प्रदान गरिने तयारी गरेको छ । त्यस्तै १६ वर्ष उमेर समूहसम्मका एक सय महिला र पुरुषलाई पनि मेडल प्रदान गरिने अध्यक्ष रमु राईले बताए ।
रन पुतलीलाइनबाट शुरु गरी दुर्गा चौक, बुद्ध चौक, रत्न चौक, मङ्गलबारे, कल्यान चौक, पानी ट्यान्की, गणेशमान चौक, रङ्गशाला हुँदै, जिरो प्वोइन्ट, अमरहाट, रेडक्रस भवन, विजयपुर चौक, पिण्डेश्वर मन्दिर, चिनिया चौक, पुरानो बजार, देशीलाइन हुँदै पुनः भानुचौकमा पूरा हुने छ । १२ वर्ष मुनीकालाई भने करिव २ किलोमिटरमात्रै रन गराइने छ ।
यस वर्ष करिब ३५ सय धावकधाविका सहभागी हुने आयोजकको दाबी छ । विगत वर्षझैं यसवर्ष बरिष्ठ ओलम्पियन धावक मुकुन्दहरि श्रेष्ठलाई सम्मान गरिनेछ । अल्ट्रा धाविका मिरा राईलाई स्वागत सम्मान गरिने छ । च्यारेटीबाट सङ्कलित रकमले धरानका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिने लक्ष्य लिएको संस्थापक अध्यक्ष सन्तोष राईले बताए । संस्थापक अध्यक्ष राईको छोरीको नाममा नेवा च्यारिटी रन शुरु गरिएको हो । धरान रनको परिकल्पनाकार पनि उनी नै हुन् ।