बिर्तामोड / मगमग झापा गोल्डकपको आज भएको खेलमा आयोजक झापा बिजयी भएको छ । झापाले थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
झापा गोल्डकपको चौथो सिजनसम्म आइपुग्दा आयोजक झापालगातार चौथो पटक फाइनलमा प्रवेश गरेको छ । तर उपाधी जित्न भने सफल भएको छैन् ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा टुङुगीए पछि १५ मिनेट समय थप गरिएको थियो । थपिएको १५ मिनेटमा पनि कुनै गोल हुन सकेन । टाइब्रेकरमा थ्री स्टारका रजिन धिमालले मात्र गोल गर्न सके । रुपेश केसी, बुद्ध लिम्बु, र मिक्चेन तामाङको प्रहार असफल भयो । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले निर्धारित समयमा स्कोर गर्न नसक्दा हार ब्यहोर्नु परेको बताए ।
झापाका पुजन उपरकोटी, देबेन्द्र तामाङ र गोलरक्षक दिनेश थापामगरले गोल गरेर जीतलाई सुनिश्चित गरे । हेमन गुरुङ र कर्ण लिम्बु गोल गर्नबाट चुके ।
झापाका प्रशिक्षक प्रवेश कटवालले नतिजाप्रति सन्तोष ब्यक्त गरे । मार्क गरेका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसकेको उनले बताए । फाइनलमा आउने टिम हेरेर नयाँ रणनीति बनाउने उनले बताए ।
खेलको २०औं मिनेटमा झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओएमीले गरेको कडा सट पोष्ट नजिकैबाट बाहिरियो । ८२ औं मिनेटमा काजिम बुखारीको हेडरबार छुँदै बाहिरिँदा झापाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।
थ्री स्टारका सुशिल राईले मिलाएको पासलाई अजय मार्टिनले डि बक्सबाट गरेको हेड बाहिरियो । गोलरक्षक दिनेश थापामगर बीट भइसकेको अवस्थामा ३० औं मिनेटमा शुसिल राईको आकर्षक हेड झापाका मिड दिलेन लोक्तामले जोगाए । ७३ औं मिनेटमा पुन अजय मार्टिनको कडा प्रहार बार तगारो बन्दा सफल सफल हुन सकेन ।
खेलको म्यान अफ द म्याच मगमग झापा ११ का गोलरक्षक दिनेश थापामगर घोषित भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमीफाइनल खेल त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाफिन्स क्लबबीच हुने आयोजकले जनाएको छ ।