पाँचथर /  साविक बिजेता ललितपुरको थ्रिस्टार क्लव इलाममा जारी अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको पाँचौं संस्करणबाट बाहिरिएको छ ।
इलामस्थित ठूलो टुडिंखेलमा बुधबार भएको खेलमा थ्रिस्टारले हिमालयन शेर्पा क्लवसँग ३–१ गोलअन्तरको हार व्यहोरेको हो । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन थ्रिस्टारले सुरुवाती अग्रतालाई जोगाउन नसक्दा घर फर्किनु प¥यो ।
थ्रिस्टारले १४ औं मिनेटमा कप्तान अनिल गुरुङको गोलबाट लिएको अग्रतालाई पाँच मिनेट पनि बँचाउन सकेन । १९औं मिनेटमा हिमालयन शेर्पाका लागि बिजय श्रेष्ठले सुन्दर गोल गर्दै नतिजालाई १–१ को बराबरीमा ल्याए । खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा थ्रिस्टारले आक्रमक खेल देखाए पनि स्कोर गर्न सकेन । हिमालयन शेर्पाका ६८औं मिनेटमा त्रिभुवन गुरुङ र ७५ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै ३–१ को जीत दिलाउदा लगातार उपाधि उचाल्ने थ्रिस्टारको सपना चकनाचर भयो । खेलको म्यान अफ् दि म्याच हिमालयन शेर्पाका रामसेई बने । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे ।
थ्रिस्टारको लगातार उपाधि उचाल्ने सपनामा बाधक बन्दै हिमालयन शेर्पाले यो सिजनमा बाराको सिमरा गोल्डकपमा व्यहोरेको हारको बद्ला समेत लियो । अब उसले उपाधि नजिक पुग्न बिहीबार हुने एपिएफ क्वल र क्यामरुनी क्लव दाउफिन्सबीचको बिजेताको सामना गर्नुपर्ने आयोजक माइभ्याली स्पोर्टिङ क्लवले जनाएको छ ।
(फोटो पनि छ ।)