इटहरी/ गरिबी, अशिक्षा, बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन्, कोही आफन्तबाटै ठगिन्छन् अनि कोही भने आखाँ चिम्लेर कसैलाई विश्वास गर्दा फस्छन् ।
वैदेशिक रोजगारसम्बन्धी पर्याप्त जनचेतनाको अभावमा सयौं नेपालीको लाखौं रुपैयाँ डुबेको छ । सरकारले एजेण्टको व्यवस्था खारेज गरे पनि अझै पनि गाउँ–गाउँमा दलालको बिगबिगी छ ।
पात्र नम्बर १ः सुनसरी रामधुनी गाउँका अधिकांश युवाहरू विदेशिए । सबै सहपाठीले विदेशबाट महिनैपिच्छे पैसा पठाएको देखेपछि धर्मेन्द्रमा पनि विदेशको हुट्हुटी चल्यो । अनि चिनेजानेकै मान्छेको सहारामा क्यानाडा जाने पासपोर्ट र भिषा देखेपछि विदेशिने योजना बनाए । तर उनको योजना दलालहरूको कारण एकाएक तुहियो ।
विदेश जानु त कता हो कता, एजेण्टलाई दिएको पाँचलाख असुल्न पनि मुस्किल परेको छ । आजित भएपछि धर्मेन्द्रले आफ्नो डुबेका पैसा उठ्ने आशामा श्रम कार्यालय विराटनगरमा उजुरी गरे तर अहिलेसम्म ठग पक्राउ नपर्दा उनलाई पीडामाथि पीडा थपिएको छ । उनी भन्छन्, ‘कानूनी राज्यमा ठगहरूले बिगबिगी छ, मैले न्याय पाइनँ ।’
पात्र नम्बर २ः मोरङको सुनवर्षी नगरपालिका–९ का हंशराज राजवंशीले क्यानाडा जाने र पैसा कमाउने सपना बुन्दै दलाललाई पैसा बुझाए । तर अहिले उनको घरमा रुवाबासी छ । ऋणपान गरेको रकम दलालहरू निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दीपेन्द्रकुमार झालगायतले ठगेपछि आफू समस्यामा परेको उनी बताउँछन् । न्याय मागेको धेरै समय भए पनि ठग्नेहरू अहिलेसम्म पक्राउ नपरेको उनको दुःखेसो छ ।
पात्र नम्बर ३ः रामधुनीका सन्तोष चौधरीको पनि ठूला–ठूला सपना अहिले चकनाचुर भएका छन् । ‘विदेश गइहालिन्छ’ भन्दै आफन्तहरूसँग ऋण मागेर पैसा बुझाएका उनी अहिले न विदेश जान पाए, न त पैसा नै फिर्ता भयो । अहिले आफूलाई समस्यामाथि समस्या थपिएको उनी बताउँछन् ।
उनीहरू मात्र होइन, सुनसरी र मोरङका १३ जनाभन्दा बढी युवाहरू क्यानाडा जाने लोभमा ठगिएका छन् । उनीहरूलाई ठग्नेहरू भने फरार भएका छन् । दलालहरू सुनसरीको रामधुनी नगरपालिकामा नक्कली भिषा देखाई ३७ लाख लिएर फरार भएका छन् ।
रामधुनीबाट ठगिनेहरूमा धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरी छन् । नक्कली भिषा र टिकट देखाएर दलालले रकम लिएको पीडितहरू बताउँछन् ।
उजुरी गरेको लामो समय भइसक्दा पनि ठगी गर्नेहरू पक्राउ नपरेको पीडितको गुनासो रहेको छ । जसमा मुख्य एजेण्टहरू निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दीपेन्द्रकुमार झालगायतले स्थानीय युवाको सहयोगमा ३० भन्दा बढीसँग डेढ करोड रुपैयाँभन्दा बढी रकम लिएका पीडितहरूको भनाइ छ ।
आफूहरू ठगिएको भन्दै मोरङ, सुनवर्षी नगरपालिका–९ का हंशराज राजवंशी, कंशराज राजवंशी, पङ्कज राजवंशी, अजय देवगण राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डलले श्रम कार्यालयमा निवेदन दिएका थिए ।
इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर जितेश दाहालले रामधुनीका ६ जना युवाहरू ठगिएको भन्दै उजुरी गर्न आएको बताए । ‘अहिले उक्त उजुरी श्रम कार्यालय विराटनगरमा दर्ता भएको छ’ –इन्स्पेक्टर दाहालले भने । ठगी गर्नेहरूलाई हाजिर गराउने भन्दै श्रम कार्यालयबाट इलाका प्रहरी कार्यालय पकलीमा पत्र आएको पनि उनले बताए ।