खोटाङ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्या क्षमताको सुविधासम्पन्न अस्पताल भवन औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

भवन हस्तान्तरणसँगै तिहारपछि ५० शय्याको अस्पताल सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारको रु. २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा निर्माण भएको चारतले अस्पताल भवनको प्रमाणपत्र बिहीबार आयोजना कार्यालय ओखलढुङ्गाका प्रमुख इन्जिनियर सुरज पौडेलले जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. पुस्कल राईलाई हस्तान्तरण गरेका हुन् ।

विसं २०७८ असार २४ गते निर्माण सम्झौता भई ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भवन निर्धारित समयमा निर्माण हुन सकेको थिएन । निर्माणको जिम्मा पाएको श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले काम सम्पन्न गर्न नसकेपछि निर्माण व्यवसायी सुनिल राईले जिम्मेवारी लिएर भवन निर्माण पूरा गरेका हुन् ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईका अनुसार भवन हस्तान्तरण भएसँगै आवश्यक उपकरण तथा सामग्री जडान गरेर तिहारपछि ५० शय्याको सेवा सञ्चालन गरिनेछ । “सुविधासम्पन्न अस्पताल भवनमा आवश्यक सामग्री जडान गर्न बाँकी छ । तिहारपछि सबै सामग्री जडान गरेर सेवा शुभारम्भ गर्ने योजना छ,” उनले भने, “सेवा सञ्चालन भएपछि विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा जिल्लामै उपलब्ध गराउने लक्ष्य छ । सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।”

निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम अघि नबढेपछि कारबाही प्रक्रिया सुरु गरिएको थियो । त्यसपछि निर्माण व्यवसायी सुनिल राईले भवन निर्माणको जिम्मेवारी लिएर लामो समयदेखि अलपत्र रहेको आयोजना सम्पन्न गरेका हुन् । तुवाचुङ कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका राईले आफ्नै जिल्लाको अस्पताल भवन निर्माण सम्पन्न गर्न पाउँदा खुसी लागेको बताए । भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आयोजना कार्यालय ओखलढुङ्गाका प्रमुख इन्जिनियर पौडेलले लामो समयदेखि रोकिएको काम पूरा हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।

विसं २०४९ वैशाख १ गते १५ शय्याको सेवा दिने उद्देश्यले स्थापना भएको जिल्ला अस्पताललाई ३३ वर्षपछि २०८२ असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको थियो । भवन निर्माण सम्पन्न नहुँदै कोशी प्रदेश सरकारका तत्कालीन स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले ५० शय्याको सेवा शुभारम्भ गरेका थिए । तर, आवश्यक भौतिक संरचना तयार नहुँदा अस्पतालको सेवा प्रभावित भएको थियो । भवन निर्माण पूरा नभई सेवा शुभारम्भ गरिएको भन्दै त्यसबेला सामाजिक सञ्जालमा आलोचनासमेत भएको थियो ।

नवनिर्मित अस्पताल भवनको पहिलो तलामा बहिरङ्ग सेवा (ओपीडी), आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी र सुरक्षा कक्ष निर्माण गरिएका छन् । दोस्रो तलामा प्रसूति सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रियाका लागि संरचना बनाइएको छ । त्यस्तै, तेस्रो तलामा सघन उपचार कक्ष (आईसीयू), आइसोलेसन कक्ष र क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा र सेमिनार हललगायतका संरचना रहेका छन् ।

नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि जिल्लावासीले विशेषज्ञ चिकित्सकसहित थप व्यवस्थित स्वास्थ्य सेवा आफ्नै जिल्लामा पाउने अपेक्षा गरिएको छ ।रासस