काँकडभिट्टा ।  अन्तर्राष्ट्रिय सीमाको नियमलाई तोड्दै नेपालको पूर्वी सीमा मेची पुलमा भारतीयले सीमा स्तम्भ बनाएको पाइएको छ ।

सीमा स्तम्भ राखेको थाहा पाएपछि नेपाली युवाहरूले बिहीबार सीमा स्तम्भ उखलेर फालेका छन् । सीमा सुरक्षाका लागि काँकडभिट्टाबाट खटिएको  सशस्त्र प्रहरी बल  र इलाका प्रहरी कार्यालय काँकडभिट्टा समेत यसबारे अनभिज्ञ छन् । भारतीय नागरिकले मेची खोलामा बन्दै गरेको नयाँ पुलको नाम लिएर सीमा स्तम्भ उखालेर नेपालतिर सारिदिएको हो ।

काँकडभिट्टाका स्थानीय युवा  फडिन्द्र घिमिरे, गणेशकुमार खरेल, कृष्ण बस्नेतलगायत पत्रकारहरूले भारतले बनाएको स्तम्भ स्थल राखेको बारे थाहा पाएका थिए । त्यसपश्चात युवाहरूले सशस्त्र प्रहरी बल काँकडभिट्टाका डिएसपी  राजेश घिमिरे र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापालाई स्तम्भबारे जानकारी लिँदा आफूहरूलाईसमेत जानकारी नभएको बताएका थिए ।

पुरानो स्तम्भभन्दा २० मिटर वर सारेर नेपालको भूभागमा स्तम्भ सारेको फेला परेको हो । झापा जिल्लाका सिडियो जनकराज  दाहाल,  सशस्त्रका डिएसपी घिमिरे र जनपथ प्रहरीको नेतृत्वमा युवाहरू सीमास्तम्भ हटाएका हुन् ।