काँकडभिट्टा/ गत वैशाख २ गते इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा थुनुवा रहेको अवस्थामा शङ्कास्पद मृत्यु भएका किरण कार्कीढोलीको मृत्यु प्रकारणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टा विद्यार्थीले र्याली निकालेका छन् ।
कार्कीढोली मृत्यु प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै बुधबार बृहत् र्याली निकालिएको हो । मेचीनगर बाल सञ्जालको आयोजनामा भएको र्याली काँकडभिट्टा बजार परिक्रमा गरी कोणसभामा सम्पन्न गरिएको थियो ।
‘बाल हिंसा अन्त्य गर, दोषीलाई सजाय दे’ लगायतका नारासहित प्ले–कार्ड बोकेर मेचीनगर नगरपालिका क्षेत्रभित्रका ८ विद्यालयहरूका ४ सयभन्दा बढी विद्यार्थीहरू र बालअधिकारकर्मी सहभागी ¥यालीमा राजनीतिक पार्टीका युवा नेताहरूको पनि सहभागिता रहेको थियो ।
१५ वर्षीय किरण कार्कीढोलीलाई मोबाइल चोरीको अभियोगमा चैत २९ गते बेलुका बिर्तामोडबाट पक्राउ गरी हिरासतमा राखेर ‘अनुसन्धान’ गर्दै गरेको अवस्थामा वैशाख २ गते राति उनको हिरासतभित्रैको बाथरुममा झुण्डिएको अवस्थामा शव फेला परेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिएका थिए ।
‘शुरुमा भारतीय नागरिक हो भन्ने सूचना आएको थियो’ श्रेष्ठले भने, ‘आफन्त नभेटेपछि बेवारिसे मुचुल्का बनाएर पोष्टमार्टमका लागि ल्याएपछि उनको घर काँकडभिट्टामा भएको पत्ता लागेको हो ।’ बाथरुमको धाराको टुटीमा आफूले लगाउँदै आएको कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको थियो । घर पत्ता लागेपछि मृतकका बाबु रमेश कार्कीढोलीलाई ल्याएर सनाखत गर्न लगाएको उनले बताए ।
कक्षा ५ मा अध्ययनरत कार्कीढोलीको मृत्युपछि प्रहरीले उठाएको मुचुल्कामा मृतक कार्कीढोलीको उमेर १९ वर्ष पुगेको उल्लेख थियो तर, बाबु रमेशले मृतक कार्कीढोली १५ वर्षमात्र पुगेको जानकारी दिए । बालकलाई पक्राउ गरेपछि अरु वयष्कहरूसँगै हिरासतमा राख्न नमिल्ने कानून रहेको अधिकारकर्मी अर्जुन बस्नेतले जानकारी दिएका थिए । यद्यपि बिर्तामोड प्रहरीले उनलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको थियो ।
बाबु रमेशले काँकडभिट्टाबाट आफूलाई प्रहरीले उसैको गाडीमा लगेर छोराको शव जिम्मा लगाएको बताए । उनले घरबाट हराएको छोरा एक्कासि मृत्यु भएको अवस्थामा भेटेपछि प्रहरीले भनेको ठाउँमा हस्ताक्षर गरेर शव बुझेको सुनाए । अञ्चल अस्पताल भद्रपुरबाट शव बुझेर परिवारले अन्त्येष्ठी गरेका थिए ।
प्रहरीले २ गते राति २ बजे हिरासतभित्र रहेको बाथरुममा झुण्डिएर मृत्यु भएको जनाएको छ । २ गते अपराह्न आफन्त बोलाएर शव जिम्मा लगाइएको थियो । बाबु रमेशले प्रहरीले आफूलाई खबर नगरी पोष्टमार्टम गर्न लगेपछि बालकको मृत्युको बारेमा शङ्का उत्पन्न भएको परिवारको आरोप लगाएका थिए ।
बालकलाई पक्राउपछि प्रहरीले अदालतबाट म्याद थपसमेत नगरेको पाइएको छ । सामान्यतया पक्राउपछि २४ घण्टाभित्रमा अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्छ । तर, प्रहरीले कार्कीढोलीको मृत्यु केसमा कुनै कानूनी प्रक्रियासमेत पूरा नगरेको पाइएको छ ।