मधुमल्ला । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालमा अब राजनीतिक अधिकार प्राप्त भईसकेकाले समृद्ध नेपाल निर्माण गर्ने प्रमुख आधार नै शिक्षा र चेतना रहेको बताएका छन् । मंगलबार कालिका समुदायिक मा.वि. मिक्लाजुङ–३ धोबेनी को ४० औं बार्षिक उत्सब तथा अभिभावक दिवस र प्राबविधिक शिक्षा अन्र्तगत सिभिल ईन्जिनियरिङ् कक्षाको उद्याटन गर्न प्रमुख अतिथीको रुपमा आएका घिमिरेले सो कुरा बताएका हुन ।

घिमिरेले शिक्षा अपरिहार्य र अत्यावश्यक कुरा भएकाले प्राविधिक शिक्षाको माध्यमबाट नै देशलाई सम्बृद्ध बनाउन सकिने बताए । शिक्षा व्यवसायिक हुन आवश्यक रहेको बताउदैं मन्त्री घिमिरेले अबको शिक्षा रोजगारीमुलक हुनुपर्नेमा जोड दिए । उनले मिक्लाजुङ गाउँपालिकामा प्राविधिक क्षेत्रमा कस्तो शिक्षा आवश्यक पर्छ सोही अनुसार अध्यापन हुनुपर्ने बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट यस प्रदेशका ५६ निर्वाचन क्षेत्रका एक सय १२ वटा सामुदायिक विद्यालयमा झोला र किताब बिस्थापित गर्नेगरी आईटी शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको बताए । अब बिद्यालय र कक्षाकोठा आईटीमैत्री हुनुपर्नेमा जोड दिँदै उनले आधुनिक प्रविधि अनुसार शिक्षा सञ्चालन हुनुपर्ने बताए ।

मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल)ले विद्यालयको प्राविधिक शिक्षा र अग्रेजी माध्यमको पठन–पाठनमा सहयोग गर्ने उद्घोष गरे । यस विद्यालय आफु पनि पढेको बिद्यालय भन्दै उनले रोजगामुलक शिक्षा नै अबको आवश्यकता रहेको उल्लेख गरे । यस्तै कार्यक्रममा बेल्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले शिक्षकहरुलाई इङ्गीत गर्दै शिक्षण पेशालाई हाजिरा पाकाउने माध्यम मात्र नबनाई इमान्दार भएर सेवामा लागि पर्न र शैक्षिक गुणस्तर नमुना विद्यालय बनाउने गरी काम गर्नु पर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मात्रिकाप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुका साथै बिद्यालयका समस्याका विषयमा अवगत गराएका थिए ।